निर्वाचन आयोगले आगामी असार ८ गते हुने संविधानसभा सदस्य उपनिर्वाचनको निर्वाचन कार्यक्रमअनुसार चारवटै निर्वाचन क्षेत्रमा जेठ ११ गते उम्मेदवारी दर्ता गराएका राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई आइतबार निर्वाचन चिह्न प्रदान गरेको छ ।
चारवटै निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतले सम्बन्धित राजनीतिक दल र स्वतन्त्र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नुभयो ।
निर्वाचन चिह्न वितरण कार्यक्रम शान्तिपूर्ण र सौहार्द वातावरणमा सम्पन्न भएको बताइएको छ ।
निर्वाचन अधिकृतले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार चारवटै निर्वाचन क्षेत्रमा अब राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी जम्मा ७६ जना चुनावी प्रतिस्पर्धामा छन् ।
तीमध्ये राजनीतिक दलका उम्मेदवार ६० र स्वतन्त्र १६ तथा महिला ९ र पुरुष ६७ जना छन् । जेठ ११ गते जम्मा ८१ जना उम्मेदवारले उम्मेदवारीको मनोनयनपत्र दर्ता गराएका थिए ।
काठमाडौँ क्षेत्र नं २, चितवन क्षेत्र नं ४, बर्दिया क्षेत्र नं १ र कैलाली क्षेत्र नं ६ मा उपनिर्वाचन हुन लागेको हो । रासस
प्रकाशित मिति: आइतबार, जेठ १८, २०७१