संसदको अवरोध हटाउन प्रमुख तीन दलबीच भएको छलफल निष्कर्ष बिहिन

काठमाडौं, जेष्ठ २० । संसदको अवरोध हटाउन प्रमुख तीन दलबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ ।
संविधानसभाको बैठक चलिरहँदा संसद भवनमै भएको कांग्रेस, एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुबीचको छलफलमा दुबै पक्ष आ-आफ्ना अडानबाट पछि नहटेपछि बैठक बिना निश्कर्ष टुंगिएको हो ।
बैठकमा ४ बुँदे सहमति कार्यान्वयन गर्न सरकार पक्ष सकारात्मक देखिए पनि रकमान्तरको विषयमा जवाफ दिन सरकार तयार नभएको एमाओवादीको दाबी छ ।
बैठकपछि एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले रकमान्तरको बारेमा मन्त्रीहरुले समय मागेको जानकारी दिए ।
यसअघि आज बिहान प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पनि संसद बैठक सुचारु गर्ने विषयमा छलफल भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संसद बैठक सुचारु गर्ने उपायबारे छलफल भएको हो । IMAGEKHABAR