काठमाडौं, जेष्ठ २० । सभासदहरुले सहमतिकै आधारमा राज्यको पुनःसंरचना गर्नुपर्नेमा जोड दिएपनि दलीय अडान भने कायमै राखेका छन् । संविधानसभाको आजको बैठकमा तत्कालीन राज्यको पुनःसंरचना समितिको प्रारम्भिक मस्यौदामा भएका सहमति र असहमतिका बूँदामाथिको छलफलमा बोल्ने सभासदहरुले सहमतिको भाकासँगै दलको अडान पनि दोहोर्याएका छन् ।
बैठकमा बोल्दै कांग्रेस सभासद बालकृष्ण खाँडले जातजाति तथा भाषा क्षेत्रलाई ध्यानमा राखेर राज्य पुनःसंरचना गर्नुपर्ने बताए ।
एमाले सभासद अमृतकुमार बोहोराले पहिचानका ५ आधार र सामाथ्र्यका ४ आधारमा टेकेर संघीयतामा जानुपर्ने धारणा राखे ।
एकीकृत माओवादीका कृष्णबहादुर महराले अघिल्लो संविधानसभाको राज्यको पुनसंरचना समिति र राज्य पुनसंरचना आयोगको प्रतिवेदनमा केन्द्रित रहेर प्रदेश बनाउनुपर्ने बताए ।
यस्तै, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद जितेन्द्र नारायण देवले स्वायत्त मधेस प्रदेशमा सहमति भइसकेको भन्दै त्यसबाट पछाडि हट्न नमिल्ने जिकिर गरे ।
राप्रपा नेपालका सभासद दिलनाथ गिरीले सहमतिका आधारमै राज्यहरुको निर्माण गर्नुपर्ने भन्दै जातीय आधारमा संघीयतामा जान नसकिने बताए । IMAGEKHABAR