२२ जेठ, काठमाडौं । कार्यविभाजनसँगै एकीकृत नेकपा माओवादीमा प्रचण्ड पक्षधरभित्रै असन्तुष्टि बढेको छ । हालै सम्पन्न एमाओवादी केन्द्रीय समितिले पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारी चयन गर्नुका साथै नेताहरुको कार्यविभाजन टुङ्गो लगाएको थियो । यसक्रममा पद नपाउने प्रचण्डपक्षका नेताहरुका असन्तुष्टि चुलिएको हो ।
कार्यविभाजनप्रति असन्तुष्टि जनाउँदै प्रचण्डपक्षका नेता लेखराज भट्टले पोलिटब्यूरो सदस्यबाटै राजीनामा दिएका छन् । राजीनामा दिएका भट्टले आफूले सम्हाल्दै आएको सेती-महाकाली राज्य समितिमा आउने इञ्चार्जलाई कालोमोसो दलेर स्वागत गर्ने चेतावनीसमेत दिएका छन् ।
स्थायी समितिका दाबेदार भट्ट संविधानसभा निर्वाचनदेखि नै पार्टी अध्यक्ष प्रचण्डसँग असन्तुष्ट रहेका थिए ।