अत्याधिक गर्मी बढेपछि नवलपरासीका विद्यालयहरु बन्द

नवलपरासी, जेष्ठ २४ । अत्याधिक गर्मी बढेपछि नवलपरासीका विद्यालयहरु एक हप्ताका लागि बन्द गरिएको छ । खडेरीपछि एक्कासी बढेको गर्मीले विद्यार्थीहरु बिरामी पर्न थालेपछि प्याब्सनको निर्णयमा जिल्लाका निजी विद्यालयहरु बन्द गरिएका हुन् ।
विद्यार्थीहरुसँगै शिक्षक-शिक्षिका पनि बिरामी पर्न थालेका कारण पढाई सञ्चालनमा कठिनाइ भएकाले जेष्ठ ३० गतेसम्मका लागि विद्यालय बन्द गरिएको हो ।
गर्मी बढेसँगै अस्पतालमा बिरामीको चाप बढेपछि शैया अभाव हुँदा भुइँमा राखेर उपचार गर्नुपरेको पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीका प्रमुख डा. मोहम्मद नुरुल होदाले बताए । निजी क्लिनिकमा पनि बिरामीको चाप उत्तिकै छ ।
अस्पतालमा दैनिक डेढ सयदेखि दुई सय बिरामी आउने गरेको डा. होदाले बताए । जसमा झाडापखाला र कडा टाइफाइड ज्वरोका बिरामी बढी रहेका छन् । – IMAGEKHABAR