काठमाडौं, जेष्ठ २२ । राष्ट्रिय प्रजातन्त्र पार्टीको एउटा पक्षले पशुपतिशम्शेर राणालाई अध्यक्ष घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय चावहिलमा आज बसेको केन्द्रीय समिति बैठकको शुरुमा सूर्यबहादुर थापाले आफुले अध्यक्षबाट राजीनामा दिएको भन्दै आजैबाट राणा अध्यक्ष बनेको घोषणा गरेका थिए ।
त्यसपछि केन्द्रीय समिति बैठक बसेर थापाको राजीनामा र अध्यक्षमा राणाको घोषणालाई अनुमोदन गरेको थियो ।
महाधिवेशनमा पार्टीलाई आलो पालो प्रणाली अन्र्तगत चलाउने भन्दै शुरुमा थापा, त्यसपछि लोकेन्द्रबहादुर चन्द, त्यसपछि राणा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष बन्ने सहमति भएको थियो ।
तर थापाले पूर्व सहमति अनुसार अध्यक्ष पद नत्यागेको भन्दै केही नेताले चन्दलाई अध्यक्ष घोषणा गरेका थिए । तर चन्दले हास्यास्पद र अराजक गतिविधि गरेको आरोप लगाउँदै थापाले राणा अध्यक्ष बनेको घोषणा गरेका थिए ।
यता, चन्द पक्षले भने पशुपति शम्शेरलाई अध्यक्षको रुपमा स्वीकार्न नसकिने स्पष्ट पारेको छ । चन्द पक्षको यो भनाइसँगै राप्रपा फेरि विभाजनतिर अग्रसर बनेको छ । चन्द पक्ष असारमा राष्ट्रिय भेला गर्ने तयारीमा समेत जुटेको छ । IMAGEKHABAR