काभ्रे, जेष्ठ २५ । नेकपा एमालेको महाधिवेशन नजिकिदै जाँदा जिल्ला जिल्लामा माधव नेपाल प्यानल र केपी ओली प्यानल बनाई छुट्टा छुट्टै भेला, बैठक र लविङ थालिएको छ । ओलीको मातहतमा रहेको संस्था मदन भण्डारी फाउण्डेशन रहेकामा पछिल्लो दिनमा नेपाल प्यानलले मदन भण्डारी अध्ययन केन्द्र गठन गरेको छ ।
काभ्रेमा उक्त केन्द्र गठनबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा ओली प्यानलले नेपाल प्यानलका सदस्यहरुलाई पार्टी कार्यालय प्रवेशनै दिएनन् । नेपाल प्यानलले एमाले पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनलाई असफल बनाउन ओली समुहले पार्टी कार्यालयको गेटदेखि भित्री कोठासम्म ताला लगाएका थिए ।
त्यसपछि नेपाल समूहले कार्यालयको गेटमै पत्रकार सम्मेलन गरेको थियो । जिल्लामा नेपाल प्यानलको नेतृत्व सचिव टोकबहादुर वाईवा तथा ओली प्यानलको नेतृत्व अध्यक्ष गोकुल बाँस्कोटाले गरेका छन् ।
वाईवाले कार्यक्रमबारे जानकारी गराउँदा गराउँदै अध्यक्षले ताला लगाएको भन्दै आक्रोश व्यक्त गरे । एमाले पार्टी एउटा व्यक्तिको नभएको र सबैको साझा भएकाले यस्ता हर्कत अमान्य हुने उनले बताए । IMAGEKHABAR