गोरखामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा सदरमुकाम तनावपूर्ण

गोरखा, जेष्ठ २५ । सामान्य दुर्घटनाको विषयमा गोरखामा नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच झडप हुँदा रातभर गोरखा सदरमुकाम तनावपूर्ण बन्यो । दुर्घटनाको विवाद मिलाउन छलफल भइरहेको बेला कांग्रेस र एमालेका कार्यकर्ताबीच जिल्ला प्रहरी कार्यालयकै परिसरमा कुटाकुट भएको हो ।
छलफलको क्रममा एमाले कार्यकर्ताले कांग्रेसका नगर सभापति राजनराज पन्तलाई एक्कासी ढुङ्गा प्रहार गरेपछि विवाद बढेको हो । पन्तलाई उपचारको लागी राति नै गोरखा अस्पताल लगिएको थियो । आक्रमणमा संलग्न रहेको भन्दै प्रहरीले युवा संघका बसन्त गुरुङ र एक महिलालाई नियन्त्रणमा लिएको छ ।
पन्तमाथि आक्रमण भएपछि कांग्रेस कार्यकर्ताले पनि गुरुङको कारमा तोडफोड तथा एमाले कार्यकर्ता हरि रोकामाथि हातपात गरेका थिए । आक्रोशित कांग्रेस कार्यकर्ताले प्रहरी कार्यालयमा राति तीन बजेसम्म नाराबाजी गरेका थिए ।
गोरखा सदरमुकाममा अहिले कांग्रेस र एमाले कार्यकर्ताले शक्ति प्रदर्शन गर्ने तयारी गरिरहेका छन् । जसले गर्दा रातभर तनावमा रहेको सदरमुकाम फेरि तनावमा फस्ने आशंका बढेको छ । IMAGEKHABAR