२६ जेठ, काठमाडौँ । सरकारले विद्यार्थी सङ्ख्या कम भएको भन्दै काठमाडौँ जिल्लाका दर्जन सामुदायिक विद्यालय गाभेको छ ।
वि.सं. २०६८ देखि अहिलेसम्म ३९ सामुदायिक विद्यालयमध्ये १२ विद्यालय गाभिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
गुणस्तरीय शिक्षाका लागि भन्दै अभिभावकले विद्यार्थीलाई निजी विद्यालयमा भर्ना गर्न थालेपछि ती विद्यालय बन्द गर्नुपरेको सहायक जिल्ला शिक्षा अधिकारी रवीन्द्रकुमार बुढापि्रर्थीले बताए ।
बन्द हुनेमा क्षितिज जनता प्राथमिक विद्यालय, जनप्राथमिक विद्यालय, भँगेरी प्राथमिक विद्यालय, युधिष्ठिर प्राथमिक विद्यालय, नवज्योेति प्राथमिक विद्यालय, विद्याश्रम प्राथमिक विद्यालय, सापाटार प्राथमिक विद्यालय, चुनदेवी प्राथमिक विद्यालय, वनदेवी प्राथमिक विद्यालय, नन्दी गठोश माध्यमिक मातातीर्थ, नवदुर्गा प्राथमिक विद्यालय र सवलधौला प्राथमिक विद्यालय छन् ।
उक्त विद्यालयमा प्रत्येक वर्ष विद्यार्थी भर्ना अभियान चलाउँदा पनि विद्यार्थी भर्ना हुन नआएपछि विद्यालय बन्द गर्नुपरेको बुढापिर्थीले जानकारी दिए । अझै अनुगमन गरेर थप विद्यालय गाभ्नुपर्ने पर्ने भए पनि आउँदै गरेको उपनिर्वाचनका लागि थुप्रै कर्मचारी काजमा बसेकाले काम ढिला भएको छ-उनले भने । रासस