राप्रपाका असन्तुष्ट पक्षका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले सूर्यबहादुर थापाले पार्टी कब्जा गरेको आरोप लगाएका छन् ।
आफ्नै निवास लोकन्थलीमा पत्रकार सम्मेलन गरी अध्यक्ष चन्दले बलपूर्वक पार्टी कब्जा गरी आफना केही साथीहरुलाई कार्यालयमा पाइला समेत टेक्न नदिएको भन्दै आपत्ति जनाए । विगतमा भएको चक्रिय प्रणालीलाई थापा सहितका केही नेताहरुले उल्टाइदिएको उनले बताए ।
एक वर्ष अघि भएको अधिवेसनमा चारजना सूर्यबहादुर थापा, आफू, पशुपतिशम्सेर जबरा र डा.प्रकाशचन्द्र लोहनीले क्रमशः एक एकबर्ष आलोपालो गरि पार्टीको अध्यक्षतागर्ने भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको उनले बताए । जेठ ६ गते सुर्यबहादुर थापाको १ बर्षको कार्यकाल समाप्त भएपछि जेठ १९ गतेबाट आफूले विगतको सहमति अनुसार अध्यक्षमा दाबी गरेको उनले बताए ।
निवृत भईसकेको व्यक्तिले कुनै पनि कार्यसम्पादन गर्न नसक्ने भएकोले स्थान पूर्तिगरी भावी कार्यक्रम तय गर्नका लागि असार २ गते केन्द्रीय समितिको बैठक बोलाएको उनले सुनाए । सहमति अनुसार पशुपतिशमशेर राणालाई अध्यक्ष चयन गरेको भन्दै उनले आपत्ति जनाए । पार्टीलाई षडयन्त्रमूलक तथा संकृण स्वार्थगत राजनीतिबाट बाहिर निकाल्ने प्रयास जारी रहने पनि उनले बताए ।
प्रकाशित मिति: सोमबार, जेठ २६, २०७१ SETOPATI