एसएलसी परीक्षाको परिणाम शुक्रबार सार्वजनिक हुने

काठमाडौं : परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसएलसी (प्रवेशिका) परीक्षाको परिणाम शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ। पनिकाका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम अवस्थामा पुगेको छ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले भने, परीक्षार्थीले पाएको अंक विश्लेषण भइरहेको छ। शुक्रबारसम्ममा सार्वजनिक गर्नेगरी काम गरेका छौं। निश्चितचाहिँ भइसकेको छैन।’ गत वर्ष असार ५ गते नतिजा सार्वजनिक भएको थियो।
पनिकामा नयाँ नियन्त्रक आउनेबित्तिकै अघिल्लो वर्षको भन्दा केही दिन अघि भएपनि नतिजा सार्वजनिक गर्ने प्रतिस्पर्धा चल्छ।
गत चैतमा भएको एसएलसी परीक्षामा मुलुकभरबाट पाँच लाख ६६ हजार ८४ जना परीक्षार्थी सहभागी छन्। जसमध्ये नियमिततर्फ चार लाख १९ हजार तीन सय ५१ जना र आंशिकतर्फ एक लाख ४६ हजार सात सय ३३ जना छन्। 
= रासस