जेष्ठ ३१ । इराकमा सुन्नीसमर्थित इस्लामिक विद्रोहीले एकपछि अर्को गर्दै शहर कब्जामा लिन थालेपछि उनीहरुका विरुद्धमा हतियार उठाउन वरिष्ठ शिया धार्मिक गुरुले नागरिकसमक्ष अपील गरेका छन् । शीर्ष शिया मौलवी आयतुल्लाह अली अल सिस्तानीका एक प्रतिनिधिले यस्तो अपील गरेका हुन् ।
हिजो मात्रै अरु दुई शहर कब्जा उनीहरुले कब्जा गरेका थिए । सुन्नी समर्थित विद्रोहीले दियाला प्रान्तको सादिया र जालवाला शहर कब्जा गरेका हुन् । राजधानी बग्दाद कब्जा गर्ने धम्की दिएका विद्रोहीहरुले ती शहरमा रहेका सुरक्षाकर्मीहरुलाई आफ्नो कब्जामा लिएका छन् । यसअघि विद्रोहीले मोसुल र टिक्रिट शहर कब्जा गरेका थिए ।
शहरहरु विद्रोहीको कब्जामा जान थालेकामा विश्व समुदायले पनि चिन्ता व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपति बाराक ओबामाले इस्लामिक बिद्रोहीलाई परास्त गर्न सबैखाले सहयोग खुल्ला गरिने प्रष्ट गरेका छन् ।
कुन विकल्पमा जाने भन्ने निर्णय लिन भने आफूलाई केही दिन लाग्ने उनले बताए । अमेरिकी सेना इराकमा पठाउने विकल्प भने नरोजिने उनको भनाइ छ । ईस्लामिक विद्रोहीलाई परास्त गर्न इराकी सरकारलाई सघाउन पनि विश्व समुदायलाई ओबामाले अपील गरे ।
यसअघि राष्ट्रसंघका महासचिव बान कि मूनले पनि विद्रोहीलाई नियन्त्रणका लागि इराकको हात बलियो बनाउन विश्व समुदायलाई एक हुन आह्वान गरेका थिए । आईएस आईएस नामक ईस्लामिक अतिवादी संगठनले ईराकलाई इस्लामिक राज्य बनाउने भन्दै आक्रमण गरेको हो । AGENCIES