आषाढ २ । इराकको मोसुल र टिक्रिटलगायतका सहरहरु नियन्त्रणमा लिएका उग्रवादी सुन्नी लडाकुहरुले सयौ सरकारी सुरक्षाकर्मीको आमहत्या गरेको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
समाचार अनुसार सयौं इराकी सैनिकलाई लडाकुले अज्ञात स्थानमा लगी हत्या गरेका भिडियो र तस्वीरहरु सार्वजनिक भएका छन् । द स्लामिक स्टेट अफ इराक एण्ड लिभेन्ट (आइएसआइएस) समूहले सार्वजनिक गरेका भिडियोहरु आङै जिरिङ पार्ने खालका छन् ।
भिडियोमा सयौ सुरक्षाकर्मीले आफूहरुले आत्मसमर्पण गरेको भन्दै कराइरहेको आवाज सुन्न सकिन्छ । वेबसाइटहरुमा सार्वजनिक गरिएका तस्बीरमा सुन्नी लडाकुहरुले सैनिक जवानलाई ताकीताकी गोली हानिएका र मारिएपछि गाडीमा हाली गोप्य स्थानतर्फ लगिएको देखाइएको छ ।
इराकी सेनाका प्रवक्ताले सार्वजनिक भएका तस्पीरहरु आधिकारिक भएको जनाएका छन् तर यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन । आइएसआइएस समूहले मोसुल र टिक्रिट सहर कब्जा गरेपछि लाखौं जनता विस्थापित भएका छन् ।
राजधानी बग्दादतर्फ सुन्नी लडाकुहरु अगाडि बढिरहेको खबर आइरहँदा अमेरिकाले बग्दादस्थित आफ्नो दूतापासमा सुरक्षा कडा बनाउँदै केही कर्मचारीलाई सुरक्षित स्थानतर्फ पठाइसकेको जनाइएको छ ।
सन् २००३ मा अमेरिकाले इराकमा आक्रमण गरी सद्दाम हुसेनलाई मारेपछि भएको यो सबैभन्दा ठूलो हिंसा हो । त्यतिखेर सद्दाम सरकारको पतन गराउन अमेरिका र उस्का सहयोगी राष्ट्रहरुले जथाभावी विद्रोहीलाई बाँडेका हतियार नै यतिखेर सुन्नी विद्रोहीले दुरुपयोग गरी पूरै इराकलाई नियन्त्रणमा लिने हैसियतमा पुगेको हुनसक्ने आंकलन गरिएको छ । आइएसआइएस समूहमा सद्दामकालीन सेना र प्रहरीका जवानको उल्लेखनीय सहभागिता रहेको जनाइएको छ ।
सुन्नीहरुले अलकायदासँग आबद्ध भइ राजधानी बग्दाद नियन्त्रणमा लिने अभियान तीव्र पारेपछि शियाहरुले पनि इराकी सेनामा स्वेच्छिक रुपमा सामेल भएर सुन्नीहरु विरुद्ध आक्रमणको तयारी गरेका छन् ।
राजधानी बग्दादमा शिया युवाहरु सेनामा भर्ना हुने क्रम बढेको छ । सुन्नीहरुको उग्र गतिविधिको विरुद्धमा छिमेकी इरानले पनि इराकलाई सहयोग गर्ने इच्छा व्यक्त गरेको छ । – AGENCIES