काठमाडौं, आषाढ ६ । आज विश्व शरणार्थी दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ । युद्धले बर्बाद पारेको एउटा परिवार पनि धेरै हो भन्ने सन्देशका साथ यसवर्ष शरणार्थी दिवस मनाउन लागिएको हो ।
विश्वभर अहिले ४३ करोड मानिस आफ्नो बासस्थान गुमाएर शरणार्थी जीवन जीउन बाध्य भएका राष्ट्रसंघले जनाएको छ । जसमा १५ करोड मानिस आफ्नो देश त्याग्न बाध्य पारिएका छन् भने २७ करोड मानिसले घरेलु द्धन्द्धका कारण आफ्नो थातथलो गुमाएका छन् ।
युद्ध र द्धन्द्धका कारण बलपूर्वक विस्थापित भएकाहरुमा परेको असरमा केन्द्रित हुँदै उनीहरुको साहस, विभिन्न बाधाका विपरित उनीहरुको दृढता र आशाको सम्मान गर्न जोड दिइएको छ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर)ले द्धन्द्धका कारण धेरै मानिस विस्थापनमा परेको भन्दै युद्धको निराकरण र युद्धले उत्पन्न गरेको समस्या समाधानमा जोड दिएको छ ।
यता, मानवअधिकारवादी संस्था एम्नेष्टी इन्टरनेसनलले संयुक्त राष्ट्रसंघ विश्वमा शान्ति सुव्यवस्था कायम गर्न क्रमशः असफल हुँदै गएको टिप्पणी गरेको छ । विश्वका लाखौंलाख नागरिकले आफ्नो थातथलो छाडेर हिड्नुपर्ने विवशता अन्त्य गर्न राष्ट्रसंघीय सुरक्षा परिषदले निर्णायक कदम चाल्न सक्नुपर्ने एम्नेष्टीको भनाइ छ ।
सुरक्षा परिषद र राष्ट्रसंघका महासचिवले तत्काल निर्णय नलिइदिँदा सिरिया, दक्षिण सुडान, इराक, मध्य अफ्रिकी गणतन्त्र जस्ता द्धन्द्धग्रस्त मुलुकमा अनियन्त्रित रुपमा हिंसा फैलन गएको आरोप पनि उक्त संस्थाले लगाएको छ ।
नेपालमा भने अहिले साढे २६ हजारको हाराहारीमा भुटानी तथा २० हजारभन्दा बढी तिब्बती शरणार्थी रहेको शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोगले जनाएको छ । शरणार्थीको उचित पुनःस्थापनाका लागि नेपालमा रहेका भुटानी शरणार्थीलाई अष्ट्रेलिया, क्यानडा, डेनमार्क, नेदरल्याण्डस्, न्यूजिल्याण्ड, नर्वे, बेलायत र अमेरिकामा पुनर्बासको व्यवस्था मिलाइएको छ ।
शरणार्थी समस्या समाधानका लागि भुटानसँग १५ पटकसम्म गरिएका वार्ता बिना निष्कर्ष टुंगिएका छन् । नेपालमा सोमालिया, बंगलादेश, नाइजेरियालगायत देशका शरणार्थी पनि रहेका छन् । IMAGEKHABAR