आषाढ ६ । इराकमा सुन्नी इस्लामिक लडाकुहरुमाथि हवाई कारबाही गर्न सघाउन उनीहरुको ठेगाना पत्ता लगाउन अमेरिकाले ३ सय सैनिक सल्लाहकार बग्दाद पठाउने भएको छ । अमेरिकी राष्ट्रपति ओबामाले ३ सय सैनिक सल्लाहकारहरुले इराकी सुरक्षा निकायलाई विद्रोहीको ठेगाना पत्ता लगाइ उनीहरुमाथि हवाई हमला गर्न सघाउने घोषणा गरेका छन् ।
तर, उनले आफ्ना सेना प्रत्यक्ष रुपमा इराकी द्धन्द्धमा सहभागी नहुने स्पष्ट पारेका छन् । ओबामाले इराकी द्धन्द्धको सैनिक समाधान नभएको भन्दै शियाहरुले नेतृत्व गरेको नुरी अल मलिकी सरकारलाई समावेशी हुन आह्वान गरेका छन् ।
यसअघि इराकी सरकारले विद्रोहीलाई परास्त गर्न आफ्नो देशमा हवाई हमलाको व्यवस्था मिलाइदिन अमेरिकालाई औपचारिक आग्रह गरेको थियो ।
अमेरिकी राष्ट्रपतिले इराकले हवाई हमलाका लागि औपचारिक आग्रह गरेपछि सिनेटका सदस्यहरुसँग छलफल गरेका थिए । सुन्नी विद्रोहीहरुले भने देशका मुख्य सहरहरु कब्जा गर्दै राजधानी बग्दादलाई कब्जामा लिने रणनीति बनाइरहेका छन् । (एजेन्सी)