सन्धिखर्क, अर्घाखाँची – २०७१ आषाढ ०७ शनिवार । शुक्रबार देखि परेका अविरल वर्षाका कारण जिल्लाभरका सडक अवरुद्ध भएका छन् । वर्षाको भेलले सदरमुकाम सन्धिखर्क जोड्ने ग्रामिण सडक क्षतिग्रस्त बनाएपछि सवारी आवतजावत ठप्प भएको छ ।
हिउद याममा निर्माण गरिएका अधिकांश सडक वर्षाको भेलले बगेपछि ग्रामिण क्षेत्रको सडक अवरुद्ध भएका हुन । लगातारको वर्षाले सडक हिलो भएपछि सन्धिखर्क नगरपालिका आसपासमा समेत गाडी चल्न सकेका छैनन। बजेट सिध्याउन आर्थिक वर्षको अन्त्यमा आएर भर्खरै मात्र निर्माण थालिएका सडकमा समेत वर्षाले बढि क्षती पुर्याएको छ ।
सन्धिखर्क-गोरुसिंगे सडक खण्ड अन्तर्गत ठाडा, चाक्लादेखि पिरापानीसम्मका विभिन्न स्थानमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् ।
अवरुद्ध बनेको सडक खुलाउन कहीँ कतैबाट पहल नभएको स्थानियहरुले बताएका छन।
जिल्लाका विभिन्न स्थानमा पहिरो गएका कारण सडक अवरुद्ध हुँदा यातायातका साधन सञ्चालन हुन नसकेको देउराली यातायात व्यवसायी समितिले जानएको छ । यात्रुहरू पैदल हिँड्न बाध्य भएका छन् ।
उता छिमेकी जिल्ला गुल्मी, प्युठानमा पहिरोले दर्जन बढी मानिसहरु मरेको समाचार आएता पनि अर्घाखाँची जिल्लामा अहिले सम्म त्यस्तो अप्रिय घटना भएको छैन ।
साथै वर्षा सँगै अर्घाखाँचीका किसानहरुलाई राहत मिलेको छ। यतिबेला जिल्लाभर खेत रोप्न थालिएको छ।