संविधानसभाको उप निर्वाचनका लागि देशका चार वटा निर्वाचन क्षेत्रमा मतदान

काठमाडौं, आषाढ ८ । संविधानसभाको उप निर्वाचनका लागि आज विहान ७ बजेबाट देशका चार वटा निर्वाचन क्षेत्रमा मतदान भईरहेको छ । काठमाडौ क्षेत्र नं २, कैलाली क्षेत्र नम्बर ६, चितवनको क्षेत्र नम्बर ४ र बर्दिया क्षेत्र नं १ मा उपनिर्वाचनका लागि मतदान भईरहेको हो ।
मतदान साँझ ५ बजेसम्म खुल्ला हुने निर्वाचन आयोगले जनाएको छ । काठमाडौं २ मा जारी मतदानलाई व्यवस्थित बनाउन क्षेत्र नम्बर दुई आसपासका क्षेत्रमा सवारी आवागमनमा रोक लगाइएको छ ।
लगभग ६२ हजार मतदाता रहेको यस क्षेत्रमा ३९ स्थानमा मतदान स्थल तोकिएको छ । मतदाताहरु विहानैदेखि मतदानमा सहभागि भैरहेका छन् । काठमाडौं महानगरपालिकाको क्षेत्र ३२ र ३५ तथा कुलपानी, नाङ्लेभारे, लप्सीफेदी, गोठाटार, बज्रयोगीनी, सुनटोल, डांछी, पुकुलाछी र इन्द्रणी गाविसमा मतदान भइरहेको हो ।
सिमसिम झरीका बीच पनि मतदाताहरु मत हाल्न मतदान केन्द्रसम्म पुगेका छन् । निर्वाचनको व्यवस्थापन र सुरक्षाको पूर्ण बन्दोबस्ती गरिएको निर्वाचन आयोगले जनाएको छ । काठमाडौंमा मात्रै नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक हजारभन्दा बढि सुरक्षाकर्मी निर्वाचन क्षेत्रमा खटाइएका छन् ।
उता, कैलालीमा निर्वाचनको पुर्वसन्ध्यामा नेपाल भारत सीमा क्षेत्र बन्द गरिएको छ । त्रिनगर भन्सार कार्यालयमा सवारी तथा मालवाहक सवारी साधन रोकिएका छन् । सर्वसाधारणको आवतजावतमा निकै कडाई गरिएको छ ।
चितवनमा पनि निर्वाचन क्षेत्र प्रवेश गर्ने नाकाहरुमा चेक पोष्टनै खडा गरेर सुरक्षाकर्मी तैनाथ गरिएको छ । उपनिर्वाचन हुने चार वटै जिल्लामा आज सार्वजनिक विदा नै दिईएको छ । आजको निर्वाचनमा काठमाडौंमा ३७ जना, चितवन र बर्दियामा १२-१२ जना र कैलालीमा १५ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
मत परिणाम भने भेलि आउने छ । गत संविधानसभा निर्वाचनमा काठमाडौं २ र बर्दिया १ बाट एमाले उम्मेदवारहरु माधवकुमार नेपाल र वामदेव गौतम तथा चितवन ४ र कैलाली ६ बाट नेपाली कांग्रेसका उम्मेदवारहरु सुशील कोइराला र शेरबहादुर देउवा विजयी बनेका थिए । IMAGEKHABAR