इराकका हजारौं शिया मिलिसियाद्धारा राजधानी बग्दादको सडकमा परेड

आषाढ ७ । इराकका शिया समुदायका शक्तिशाली धर्मगुरु मोक्तादा अल-सद्र प्रति बफादार हजारौं शिया मिलिसियाले राजधानी बग्दादको सडकमा परेड खेलेका छन् । इराकका विभिन्न सहर सुन्नी इस्लामिक लडाकुहरुले नियन्त्रणमा लिइरहेका बेला शिया मिलिसियाले बग्दाद मै परेड खेलेका हुन् ।
इराकमा लामो समयसम्म अमेरिकी सेना विरुद्ध आफ्ना समर्थकहरुलाई उतारेका धर्मगुरु मोक्तादाले मुलुकभर शिया मिलिसियालाई परेडमा उत्रन आह्वान गरेका छन् । शिया मिलिसियाको शक्ति प्रदर्शनलाई इराकी सरकारको अत्यन्त विचलित रणनीतिको रुपमा हेरिएको बीबीसीले जनाएको छ ।
सुन्नी पृथकतावादीहरु केही समययता विभिन्न सहरहरु नियन्त्रणमा लिंदै बग्दादतर्फ पनि अगाडि बढिरहेका छन् ।
यता, सन् २०११ मा इराकबाट आफ्ना सेना फिर्ता गरेको अमेरिकाले सैन्य परिचालनबाट मात्रै इराकको संकट समाधान नहुनेमा जोड दिएको छ । तर, इराकी सेनालाई पृथकतावादीहरु विरुद्धको संघर्षमा सहयोग गर्न भन्दै अमेरिकाले आफ्ना ३ सय सैन्य सल्लाहाकार पठाउने जनाएको छ ।
इराकमा चर्किएको साम्प्रदायिक संघर्षका कारण १० लाख मानिस विस्थापित भएको अनुमान गरिएको छ । AGENCIES