काठमाडौं क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेद्वार दिपक कुईँकेल विजयी
संविधान सभा उपनिर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका उम्मेदवार दिपक कुईँके विजयी भएका छन्। नेपाली कांग्रेसका उम्मेद्वार दिपक कुईँकेले १४ हजार १ सय ६६ मत ल्याएर विजयी भएका हुन्। उनका निकट्तम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठले १० हजार १ सय १७ मत पाए। त्यस्तै एमाओवादीका लीलामणि पोखरेलले ३ हजार ५ सय ५६ मत पाए।
अघिल्लो संविधान सभामा पराजित नेपाली कांग्रेसकी नेतृ प्रतिमा गौतमले ल्याएको मत परिणामभन्दा कम मत ल्याएर नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठ पराजित भएका छन्। उनको यो पराजयसँगै कम्युनिस्टको किल्ला रहँदै आएको काठमाडौं क्षेत्र नम्बर दुई कांग्रेसको कब्जामा पुगेको छ। नेपाली कांग्रेसका दिपक प्रसाद कुइँकेल विजयी भएका छन्।
यस क्षेत्रबाट यसअगाडि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल विजयी भएका थिए ।
चितवन क्षेत्र नं ४ मा नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण घिमिरे विजयी
चितवन क्षेत्र नं ४ को उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण घिमिरे विजयी भएका छन्।
आज बिहान सम्पन्न मतगणनाअनुसार काँग्रेसका घिमिरे तीन हजार ४६ मत अन्तरले विजयी भएका हुन्।
गएराति ९ः३० देखि सुरु भएको मतगणना कार्य आज बिहान ३ः३० बजे सम्पन्न भएको जिल्ला निर्वाचन अधिकृत विनोदमोहन आचार्यले जानकारी दिए।
घिमिरेले कुल २० हजार ३ सय १८ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी दिलकुमारी रावल (पार्वती)ले १७ हजार २ सय ७२ मत ल्याएकी थिइन्।
अर्का एमाओवादीको उम्मेदवार खुसिराम पाखि्रनले ७ हजार ८ सय ५५ मत ल्याएका थिए। उक्त क्षेत्र प्रधानमन्त्री सुशील कोइरालाले छाडेका हुन् ।
कैलाली निर्वाचन क्षेत्र नं ६ मा नेपाली काँग्रेसका पुष्करनाथ ओझा बिजयी
कैलाली निर्वाचन क्षेत्र नं ६ मा संविधानसभा सदस्यका लागि आइतबार भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार पुष्करनाथ ओझा १४ हजार ७८४ मत प्राप्त गरी संविधानसभा सदस्यमा निर्वाचित भएका छन्।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का महेश्वर पाठकले ११ हजार ९५९ मत प्राप्त गरेका छन्। मतगणनाको अन्तिम परिणाम सार्वजनिक गर्दै मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश यज्ञराज भट्टले कैलाली क्षेत्र नं ६ बाट काँग्रेसका उम्मेदवार पुष्करनाथ ओझा निर्वाचित भएको घोषणा गरे। यो क्षेत्र कांग्रेस नेता शेरबहादुर देउवाले छाडेका हुन् ।
गएराति ९ः३० बजेबाट सुरु भएको मतगणनाको अन्तिम परिणाम आज बिहान ४ः३० बजे आएको थियो। उपनिर्वाचनमा तेस्रो स्थान प्राप्त गर्नुभएका राप्रपा नेपालका राजेश भण्डारीले चार हजार ३६७ मत प्राप्त गरेका थिए।
धनगढी नगरपालिका, उर्मा र फूलबारी गाविस पर्ने क्षेत्र नं ६ का कुल ६१ हजार ८१७ मतदातामध्ये ३९ हजार ६६३ मतदाताले मतदान गरेका थिए।
संविधानसभा सदस्यमा विजयी भएपछि ओझाले आफूले जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गरेरै छाड्ने बताए। गत मङ्सिरमा भएको दोस्रो संविधानसभा निर्वाचनमा डडेलधुरा र कैलाली क्षेत्र नं ६ गरी दुई ठाउँबाट विजयी भएका नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कैलाली क्षेत्र नं ६ छोडेपछि यो क्षेत्रमा उपनिर्वाचन भएको हो।
दोस्रो संविधानसभा चुनावमा देउवाका निकटतम प्रतिद्वन्द्वी रहेका नेकपा (एमाले)का उम्मेदवार पाठक अहिलेको उपनिर्वाचनमा पनि काँग्रेसका विजयी उम्मेदवार ओझाका निकटतम प्रतिद्वन्द्वी रहेका छन्।
बर्दिया क्षेत्र नम्बर १, मा नेकपा एमालेका श्यामप्रसाद ढकाल बिजयी
बर्दिया क्षेत्र नम्बर १, मा भएको उपनिर्वाचनमा नेकपा एमालेका श्यामप्रसाद ढकाल १६ हजार ९ सय ९६ मत प्राप्त गरी बिजयी भएका छन्।
उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका सोदे बिष्टले ११ हजार ३ सय ३५ मत प्राप्त गरेका छन् । यस्तै एकिकृत नेकपा माओबादीका भवनकुमार थारुले ११ हजार ३१ मत प्राप्त गरेका छन् । थारु यसअघिको संविधानसभाको निर्वाचनमा पनि एमाले उपाध्यक्ष बामदेव गौतमसंग पराजित भएका थिए ।
विजयी उम्मेदवार ढकाललाई आजै संविधानसभा सदस्य प्रमाणपत्र समेत प्रदान गरिएको छ। प्रमाणपत्र ग्रहण गर्दै उनले अमूल्य मत दिएर जिताउने सम्पूर्ण मतदाताहरुलाई धन्यवाद दिएका छन्। उनले जनचाहाना अनुसारको संविधान जारी गर्ने र बर्दिया जिल्लाको विकासको लागि राज्य र जनताबीच पुलको काम गर्ने प्रतिबद्धता जनाए।
यसअघि मंसिरमा भएको संविधानसभा निर्वाचनमा पनि बर्दिया १ बाट गृहमन्त्री एवं एमाले उपाध्यक्ष बामदेव गौतम विजयी भएका थिए।
कुल ५८ हजार ४ सय ४३ मतदाता रहेको बर्दियामा यसपटक ४३ हजार ८ सय १८ मत खसेको मुख्य निर्वाचन अधिकृत ऋषिप्रसाद अधिकारीले बताए । यहाँबाट यसअघि एमाले उपाध्यक्षा बामदेव गौतम विजयी भएका थिए ।
मंसिर ४ को संविधानसभा निर्वाचनमा बर्दिया १ मा गृहमन्त्री एवं एमाले उपाध्यक्ष बामदेब गौतमले १८ हजार ३ सय ४७ मत ल्याई विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी एमाओवादीका भवनकुमार थारुले ११ हजार ६ सय २८ मत प्राप्त गरेका थिए । काँग्रेसका भुवनेश्र चौधरीले भने ८ हजार ५ सय ९८ मत प्राप्त गरेका थिए।
उपनिर्वाचनमा बर्दिया १ बाट ११ दल र १ स्वतन्त्र गरी १२ जना चुनावी प्रतिस्पर्धामा थिए।
Source – SETOPATI