आषाढ ११ । इराकमा सुन्नी विद्रोहीहरुले अबको एक महिनाभित्रमा राजधानी बग्दाद नियन्त्रणमा लिने दावी गरेका छन् । एकपछि अर्को गर्दै राजधानी वरपरका शहरहरु नियन्त्रणमा लिँदै अगाडी बढिरहेका आईएसआईएस विद्रोहीले बढीमा एक महिनामा राजधानी बग्दाद कब्जा गर्ने दावी गरेका हुन् ।
केही विद्रोही सुन्नी युवा भने यो विद्रोह आइएसआईएसको नभई सुन्नी समुदायको क्रान्ति भएको बताउँछन् । राजधानी नियन्त्रणमा आइसकेपछि सुन्नीहरुले आइएसआईएसकै पनि विरोध गर्न सक्ने खबर छ ।
यसैबीच अमेरिकी विदेशमन्त्री जोन केरीले इराक समस्या समाधानका लागि क्षेत्रीय एकता जरुरी रहेको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएका छन् । उनले विद्रोहको समाधान बन्दुकले मात्र सम्धव नभएको भन्दै इराकी सरकारले सुन्नी समुदायको मागको सुनुवाई गर्नुपर्ने सुझाव दिए ।
लडाकुमाथि हवाई आक्रमण गर्न इराकी सरकारले गरेको आग्रह पनि अमेरिकाले अस्वीकार गरेको छ । तर आफ्नो प्रतिवद्धता अनुरुप अमेरिकी सैनिक सल्लाहाकारहरु भने इराक पुगेका छन् ।
तीन सय अमेरिकी सैनिक सल्लाहकार मध्ये आधा बग्दादमा रहने छन् भने आधा अरु स्थानमा तैनाथ गरिने बताइएको छ । सुन्नी विद्रोहीले एकपछि अर्को शहर कब्जामा लिएपछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले इराकलाई सहयोग गर्ने निर्णय गरेक । इराकमा यस महिनामा मात्रै एक हजार ७५ जना मारिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । AGENCIES