पछिल्लो पाँच वर्षको अवधिमा उद्योग प्रतिष्ठानहरुको संख्या १८ प्रतिशत बढि

काठमाडौं, आषाढ १२ । पछिल्लो पाँच वर्षको अवधिमा उद्योग प्रतिष्ठानहरुको संख्या १८ प्रतिशत बढिले बढेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । तर, यस अवधिमा कपडा, तयारी पोशाक, धातु उत्पादन गर्ने, औषधीजन्य सामाग्री उत्पादन गर्ने लगायतका ठुला उद्योगहरुको संख्यामा भने ह्रास आएको छ ।
विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय औद्योगिक गणना २०६९ अनुसार उद्योग प्रतिष्ठानको संख्या ४ हजार ७६ वटा पुगेको छ । २०४९ को गणनाको तुलनामा भने उद्योग प्रतिष्ठानको संख्यामा कमी आएको हो । सो अवधिमा ४ हजार २ सय ७१ वटा उद्योग प्रतिष्ठान थिए ।
यस अवधिमा खाद्य तथा पेयपदार्थ उत्पादन गर्ने कम्पनी, सिलाई तथा बुनाईबाट कपडा तयार पार्ने उद्योग, सिमेन्ट, कंक्रिट र प्लाष्टरका सामान उत्पादन गर्ने लगायतका उद्योग प्रतिष्ठान बढेका छन् । यसअवधिमा ठुला उद्योग प्रतिष्ठानहरुले करिब २ खर्ब ४२ अर्ब लगानी गरी ३ खर्ब २३ अर्ब बराबरको वस्तु तथा सेवा उत्पादन गरेको विभागले जनाएको छ ।
पाँच वर्षको अवधिमा मुलुकको अर्थतन्त्रमा ८० अर्ब बराबरको मूल्य अभिबृद्धि गरेका उद्योग प्रतिष्ठानहरु मध्ये ८७ प्रतिशतले विद्युतको उपलब्धता नहुँदा नकारात्मक असर परेको बताएका छन् ।
यस्तै ३८ प्रतिशतले कच्चा पदार्थ र दक्ष जनशक्तिको अभावले उद्योगमा असर परेको जनाएका छन् भने २२ प्रतिशत उद्योगले मजदूर संगठनका कारण उद्योगमा नकारात्मक असर परेको जनाएको विभागले जनाएको छ ।
यसअवधिमा ४ हजार ७६ उद्योग प्रतिष्ठानमा २ लाख ४ हजार ३ सय ६० जना संलग्न रहेको र यसमध्ये तलबी कामदारको संख्या १ लाख ९४ हजार ९ सय ८९ जना रहेको जनाइएको छ । विभागले प्रत्येक पाँच-पाँच वर्षमा राष्ट्रिय औद्योगिक गणना गर्दै आएको छ । IMAGEKHABAR