प्रधानमन्त्री सुशील कोइरालालाई फोक्सोको क्यान्सर भएको पुष्टि भएको छ।
न्युयोर्कस्थित राष्ट्रसंघीय मिसनको नेपाल प्रतिनिधिको कार्यालयले विज्ञप्तिमा उल्लेख गरेअनुसार बुधबार न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा प्रधानमन्त्री कोइरालाको स्वास्थ्य परीक्षण गरिएको थियो।
प्रधानमन्त्रीसँगै गएका चिकित्सक करवीरनाथ योगीलाई उद्धृत गर्दै नेपाल प्रतिनिधिको कार्यालयले उल्लेख गरेअनुसार उनलाई रेडियोथेरापी दिन चिकित्सकहरुले सुझाएका छन्। कोइरालालाई जीर्ण ब्रोन्काइटिस भएकाले फोक्सोको शल्यक्रिया गर्न नमिलेकाले रेडियाथेरापी दिन लागिएको हो। उनको रेडियोथेरापी बिहीबार बिहानदेखि नै सुरु हुनेछ।
फोक्सोको क्यान्सर अन्य अंगमा नफैलिएको भए पनि ब्रोन्काइटिसको कारण शल्यक्रिया गर्न नमिलेको हो।
कोइरालाको पारिवारिक स्रोतका अनुसार उनको क्यान्सरको उपचारका लागि रेडिएसनको मात्रा थाहा नभइसकेकाले त्यहीअनुसार प्रधानमन्त्री कोइरालाको न्युयोर्क बसाइ तय हुनेछ।