काठमाडौं, आषाढ १३ । कार्यबाहक प्रधानमन्त्री बामदेव गौतमले मन्त्रिपरिषदको सिफारिसमा मनोनयन गरिने २६ जना सभासद्को मनोनयन छिट्टै गरिने दाबी गरेका छन् । आफ्नो भागमा परेका सभासद्हरुको नाम तत्काल उपलब्ध गराउन राजनीतिक पार्टीहरुलाई आग्रह गर्दै गौतमले दलहरुले नाम दिए सरकारले असार १५ गते नै २६ जना सभासद् नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने बताए ।
राजधानीमा आज रिपोर्टस क्लवले गरेको कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री गौतमले विभिन्न देशमा रिक्त रहेका राजदूतहरुको नियुक्ति पनि असार मसान्तसम्म गरिसकिने दाबी गरे ।
गृहमन्त्रीसमेत रहेका गौतमले देशमा शान्ति सुरक्षा र अमन चयनमा कुनै समस्या नआएको भन्दै प्रधानमन्त्री सुशील कोइराला अमेरिकाबाट फर्केर आउँदा देशको समग्र अवस्थामा अझै सुधार आउने दाबी पनि गरे ।
प्रधानमन्त्री कोइरालाको उपचार आजदेखि शुरु भएको र बढीमा ३ साता भित्र उनी स्वदेश फर्कने उनको भनाई थियो । उनले एमाले महाधिवेशनका कारण बजेट आउने केही ढिलाई हुने भन्दै असार २७ गतेसम्म बजेट प्रस्तुत गर्ने तयारीमा सरकार लागेको बताए ।
आपूm कार्यबाहकको हैसियतमा रहेपनि राज्य सञ्चालनलाई अप्ठेरो नपर्ने गरी निर्णयहरु लिने गौतमको भनाइ थियो । एआइजी बढुवाको समस्या आफूले सिर्जना नगरेको दाबी गर्दै उनले पुनरावलोकन समितिको निर्णय आएपछि मात्रै त्यस विषयमा थप बोल्न सकिने बताए ।
आगामी असार १५ गते सार्वजनिक हुने सरकरके नीति कार्यक्रमा अर्थतन्त्रको पूर्वाधार, कृषि, उर्जा, पर्यटन, औद्योगिक विकास लगायतलाई महत्व दिइने उनले जानकारी दिए । एमाले महाधिवेशनको सन्दर्भमा गौतमले केपी ओली नै अध्यक्ष निर्वाचित हुने दाबी गरे । IMAGEKHABAR