१४ असार, विराटनगर । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनभावनाअनुसार सङ्घीयतासहितको संविधान निर्माण गर्न आफ्नो दल गम्भीर भएर लागेको बताएका छन् ।
मोरङको इन्द्रपुरमा शनिवार बिहान आयोजित पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पाँच राजनीतिक दलबीच हुन लागेको एकता संविधान निर्माणका लागि भएकाले त्यसप्रति शङ्का नगर्न सबैलाई आग्रह गरेका हुन् । प्रचण्डले मुलुक कठिन अवस्थाबाट गुज्रिरहेकाले माघ ८ गतेभित्र संविधान निर्माण गरेर मुलुकलाई निकास दिन सबै राजनीतिक दलको साझा कर्तव्य भएको बताए ।
उनले नेकपा-माओवादीलगायत संविधानसभाबाहिर रहेका दलहरुलाई पनि संविधान निर्माण प्रक्रियामा सहभागी गराउन छलफल एवम् वार्ता गरी सहमतिका आधारमा संविधान जारी गर्नुपर्नेमा जोड दिए । प्रचण्डले पार्टीभित्र नेताबीच कुनै विवाद नरहेको जानकारी दिँदै जनताको हितका लागि कार्य गर्नसमेत आग्रह गरे ।
प्रचण्डले सङ्घीयतासहितको संविधानबाट नै शोषित पीडित एवम् पिछडिएका जनताको हकअधिकार सम्बोधन हुने धारणा व्यक्त गरे । रासस