सुमन तिमल्सिना, विराटनगर, असार १६ – राष्टिय ध्वजा वाहक नेपाल वायुसेवा निगमको नयाँ चिनियाँ जहाजमा चिल ठोक्किएको छ ।
बिहान काठमाडौंबाट बिराटनगरको लागि आएको नाईन एन एमए ६० जहाजमा बिराटनगरमा अवतरणको क्रममा चिल ठोक्किएको हो ।
काठमाडांैबाट ८ बजेर ५ मिनेटको उडान भरेको जहाज ८:५० मा बिवराटनगरमा अवतरण गरेको थियो ।
रनवेमा दौडिरहेको जहाजमा चिल ठोक्किएको नेपाल वायुसेवा निगम क्षेत्रीय कार्यलय बिराटनगरका क्षेत्रीय प्रवन्धक हिमालचन्द्र गौतमले जानकारी दिनुभयो ।
गौतमले जहाजको पंखा (प्रोपेरर ब्लेड) मा सामान्य क्षति पुगेको छ । पंखाका ४ वटा ब्लेड मध्ये एउटामा दाग लागेका कारण पाईलटले जहाज उडाउन नमानेपछि अहिलेलाई उडान रद्द गरिएको गौतमले बताउनुभयो । उहाँले दाग लागेको ब्लेड नफेरिँदासम्म उडान नभरिने जानकारी दिनुभयो ।