अर्घाखाँचीमा मानवअधिकार उल्लंघनका घटना डर लाग्दो

– अर्जुन भुसाल 
सन्धिखर्क, अर्घाखाँची असार १५   । जिल्लामा  पछिल्लो ६ महिनाको अबधिमा मानवअधिकार उल्लंघनका घटनामा उल्लेख्य मात्रामा  वृद्धि भएको छ ।  अघिल्लो ६ महिनामा २१ घटना मात्र अभिलेखमा रहेकोमा त्यसयता  मानब अधिकार उल्लंघनका घटनामा बृद्धि भइ ३२ पुगेको अनौपाचारिक क्षेत्र सेवा केन्द्र   इन्सेक अर्घाखाँचीले सार्वजनिक गरेको  प्रतिबेदनमा उल्लेख गरिएको छ । इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तकमा समावेश गर्ने उल्लंघनका घटनालाई प्रत्येक छ महिनाको अन्तरालमा सार्वजनिक  गर्ने गरेको छ ।  इन्सेकले सन २०१४ को जनबरि देखि जुन सम्मको  अबधिमा ३२ वटा मानब अधिकार उल्लंघनका घटना घटेको अभिलेखमा  जनाएको छ ।  
 सिमलपानी गाविसमा ५ बर्षिय बालिका बलात्कृत हुनु, पाली गाविसमा एक २० बर्षिया अपाङ्ग महिलालाई बलात्कारको प्रयास गर्नु, नाताले आमा पर्नेलाइ समेत  छोराले जबरजस्ती करणी गर्ने जस्ता घटनाको कारणले पनि जिल्लाको मानब अधिकारको अबस्था सुधार उन्मुख हुन नसकेको प्रतिवेदनमा जनाइएको छ । इन्सेक प्रतिनिधि नारायण भुसालले मानव अधिकार उल्लंघनका घटनामा कमी आउन नसक्नु दुःखद पक्ष भएको बताए । दिनप्रति दिन जघन्य घटना घटिरहेका छन् उनले भने, मानव अधिकार हनन गर्नेलाई कारवाहीको दायारामा ल्याउन सबै लाग्नु पर्छ ।
   पछिल्लो ६ महिनामा २३ घरेलु हिंसा, १ बाल विबाह, २ बहुविबाह, १ मानब वेचबिखन तथा ओसार पसार, ३ वलात्कार, १ वलात्कारको प्रयास , १८ आत्म हत्या र ३३ सम्बन्ध विच्छेदका   घटनाहरु घटेको इन्सेकले जनाएको छ । नेपाल बार एसोसियसनका सचिव विजय केसीले मानव अधिकार उल्लंघनका घटना घटाउनुमा राज्य पक्षको संलग्नता नहुनुलाई सकारात्मक रुपमा  लिनु पर्ने बताए । राज्य पक्षबाट पनि जघन्य घटना घटने गरेका छन, उनले भने, तर यो समयमा कुनै घटना घटेनन्, यो सुखद पक्ष हो ।
मानवअधिकारकर्मी प्रेमनारायण गैरेले मानव अधिकार उल्लंघनका घटनालाई न्यूनिकरण गर्न सरकारी तथा गैर सरकारी संस्थाहरुले  सक्दो पहल गर्नुपर्ने बताए  । उनले गाउँ तहमा भएका जघन्य घटनालाई मेलमिलाप गर्ने परिपाटीले कतिपय अन्यायमा परेको बताए । सामाजिक मेलमिलापको नाममा जघन्य अपराध गर्नेलाई उन्मुक्ति दिने काम रोक्नु पर्छ उनले भने, यसको अन्त्यका लागि सबै क्षेत्रको सहयोग चाहिन्छ ।  प्रहरी नायव उपरिक्षक दिपेन्द्र जिसीले मानव अधिकार हननका घटनालाई विस्तारै न्यूनिकरण गर्दै लैजानु पर्ने बताए । मानवअधिकारको प्रत्याभूति दिलाउने सवालमा धेरै राम्रा काम पनि भएका छन् उनले भने, निराश नभइहाल्ने अबस्था छैन । प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले मानव अधिकार उल्लंघनका घटना वृद्धि हुनुको कारण पैलाउनु पर्ने बताए । उनले जनचेतनाको वृद्धि हुँदा पनि घटना धेरै बाहिर आएको हुन सक्ने बताए । पहिले गाउँमै गुपचुप पार्ने चलन थियो उनले भने, अहिले पिडितले उजुरी गर्ने काम वढेको छ । उनले अहिले घटना वढेजस्सतो देखिएपनि  उजुरी गर्ने बानीको विकासले मानव अधिकार उल्लंघनका घटना कम हुँदै जाने बताए ।    

अन्य समाचारहरु