पदाधिकारी चयनमा विवाद भएपछि मकवानपुरमा प्रचण्ड र भट्टराई पक्षको समानान्तर समिति

पदाधिकारी चयनमा विवाद भएपछि मकवानपुरमा एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता बाबुराम भटराई पक्षले आआफै पदाधिकारी घोषणा गरेका छन् ।
दुवै पक्षले जिल्ला अध्यक्ष आफुहरुले पाउनुपर्ने अडान राखेपछि विवाद नमिल्दा समान्तर कमिटी बनेको हो । प्रचण्ड पक्षले नेता प्रेमबहादुर पुलामी 
छिन्तुको नेतृत्वमा र बाबुराम पक्षले नेता प्रल्हाद लामिछानेको अध्यक्षतामा पदाधिकारीको नाम घोषणा गरेका छन् ।
दुवै पक्षले बुधबार हेटौडामा छुट्टाछुट्टै पत्रकार सम्मेलन गरेर आफुहरु नै आधिकारिक भएको दावी गरे । प्रचण्ड पक्षको जिल्ला कमिटीमा अध्यक्ष प्रेमबहादुर पुलामी, उपाध्यक्ष बलराम बल, सचिवमा सर्केश घलान, सह सचिबमा प्रकाशचन्द्र पाण्डे, कोषाध्यक्षमा मीना पाख्रिन रहनुभएको छ ।
त्यसैगरी भट्टराई पक्षको जिल्ला अध्यक्षमा प्रलाद लामिछाने, उपाध्यक्षमा विवेक वाइवा, सचिवमा ज्योति रायमाझी, कोषाध्यक्षमा पुनम भटराई रहनुभएको छ । ३९ सदस्यीय जिल्ला कमिटी दुई महिना अघिनै गठन भएपनि पदाधिकारी चयनका लागि पटक पटकको बैठकमा सहमति हुन सकेको थिएन ।
गत बैसाख १५ र १६ गते भएको जिल्ला सम्मेलनबाट जिल्ला सदस्यहरु निर्विरोध चयन भएपनि पदाधिकारी चयन हुन सकेको थिएन । असार १५ देखि १७ गतेसम्म माओवादी जिल्ला कमिटीको बैठकमा पदाधिकारीको विषयमा सहमति जुट्न नसकेपछि दुवै पक्षले आआफै पदाधिकारीको नाम घोषणा गरेका हुन् ।
प्रचण्ड पक्षबाट अध्यक्ष घोषित प्रेमबहादुर पुलामीले आधिकारिक जिल्ला कमिटी आफुहरुनै भएको र असन्तुष्टहरुलाई पनि समेटेर लैजाने बताउनुभयो । आफुहरुको कमिटीलाई ३९ जना जिल्ला सदस्यमध्ये २६ जनाको समर्थन रहेको पुलामीको दावी छ ।
भट्टराई पक्षबाट जिल्ला अध्यक्ष घोषित प्रलाद लामिछानेले भने आफुहरुलाई कुनैपनि पदमा नराखी आफुखुसी ढंगले पदाधिकारी चयन गरेकाले समान्तर कमिटी गठन गरेको बताउनुभयो ।