नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभासद शेखर कोइरालाले अन्तर्राष्ट्रिय समुदायको आआफ्नै स्वार्थका कारण संघीयतासहितको संविधान बनाउन कठिनाइ भइरहेको बताएका छन्।
नेपाल प्रेस युनियन धनकुटा शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा कोइरालाले संघीयताको बहसमा नेपालीसँगै अन्तर्राष्ट्रिय निकायले पनि चासो देखाएकाले राजनीतिक सहमति हुन नसकेको बताए। ‘एक पक्षले जातीय आधारमा र अर्को पक्षले भूगोलका आधारमा संघीयताको बहस गरिरहेका बेला केही अन्तर्राष्ट्रिय समुदायको सहयोगका कारण केही दल संघीयताको विपक्षमा उभिएका छन्,’ उनले भने, ‘अहिले एक जाति र समुदायलाई सम्बोधन गरेर मात्रै संघीयताको समाधान हुँदैन।
त्यसैले बहुपहिचानका आधारमा सबै जाति, समुदाय र वर्गलाई सम्मान गर्दै संविधान जारी गर्ने तयारी भइरहेको छ।’
उनले सरकारले सभासदका लागि सामूहिक आवास र यातायातको व्यवस्था गर्नुपर्ने बताए। संविधानसभा बैठकका कारण राति अबेरसम्म बस्नुपर्ने भएकाले सभासदको सुरक्षामा समस्या आएको उनको भनाइ थियो।
पहुँचका आधारमा बजेट खर्च भइरहेकाले निर्वाचन क्षेत्र विकास कोषमार्फत खर्च हुने गरी सभासदले ५ करोड माग गरेको उनले बताए।