एमालेमा अब कागजी मतदान, महाधिवेशन केही दिन लम्बिने

एमालेको जारी महाधिवेशनमा नेतृत्व छान्नका लागि अब परम्परागत कागजी मतदान हुने भएको छ। पहिलेदेखि प्रचार गरिएको विद्युतीय मतदान प्रणाली प्रयोग नहुने भएको छ।
विद्युतीय प्रणालीबाट मतदान गर्ने पहिलेदेखि कै तयारी भए पनि माधव नेपाल पक्षले विद्युतीय मतदानमा शंका गर्दै असहमति जनाएपछि यसको विकल्प खोजी भएको छ। केपी शर्मा ओली र नेपाल पक्षका नेताहरुबीच विभिन्न चरणमा छलफल भए पनि विवाद नटुंगिएपछि कागजी मतदानमा जान लागिएको हो। मतपेटिका र मतपत्र छपाइका लागि तयारी गरिएको स्रोतले बताएको छ। यसले गर्दा महाधिवेशन केही दिन लम्बिने भएको छ।
नेपाल पक्षले भोटिङ मेशिनको प्रयोग भरपर्दो नभएको र यसको दुरुपयोग हुनसक्ने बताउँदै विद्युतीय मतदानलाई प्रयोग गर्न नहुने अडान राखेको छ। केपी शर्मा ओली पक्षले भने पटकपटक परीक्षण भइसकेको विद्युतीय मतदान पद्धतिलाई नै अपनाउनुपर्ने बताएको थियो।
पूर्वनिर्धारित तालिकाअनुसार असार १९ गते सुरु भएको महाधिवेशन २५ गते सम्पन्न गर्ने योजना थियो। तर सोमबारसम्म समूहगत छलफल नै सकिएको छैन।एमाले महाधिवेशनको पाँचौ दिन सोमबार बिहानदेखि समूहगत छलफल चलिरहेको छ। बन्दसत्रमा प्रस्तुत विभिन्न प्रतिवेदनउपरमा विभिन्न समूहमा छलफल भइरहेको छ। छलफललाई सहजीकरण गर्नका लागि १९ वटा टोली बनाइएका छन्। टोली नेता छान्ने विवादका कारण आइतबार समूहगत छलफल अघि बढ्न सकेको थिएन।
एमाले बन्दसत्रमा चर्को ध्रुवीकरण देखिएको छ। यसले समूहगत छलफल पनि प्रभावित भएको छ। समूहगत छलफलका लागि टोली नेता छान्ने क्रममा देखिएको तीव्र गुटगत प्रतिस्पर्धाका कारण समूहगत छलफल पूर्वनिर्धारित कार्यतालिकाअनुसार अघि बढ्न सकेको छैन। समूहगत छलफल आइतबार सकाएर सोमबार प्रतिवेदन बन्दसत्रमा प्रस्तुत गर्ने तयारी थियो। यसले बन्दसत्र लम्बिने भएको छ।
शनिबारको बन्दसत्रमा अध्यक्ष झलनाथ खनालबाट राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलको सांगठनिक प्रतिवेदन, सचिव युवराज ज्ञवालीबाट विधान प्रतिवेदन पेस भइसकेको छ।छलफलका क्रममा धेरै प्रतिनिधिहरुले नेतृत्वको विवादले गर्दा पार्टीको नीति तथा प्रतिवेदनको छलफल ओझेलमा परेको भन्दै गुनासो गरेका थिए।