नेकपा एमालेको नेतृत्वका लागि बिहीबार दुवै पक्षले उम्मेदवार सार्वजनिक गर्दैछन् ।अध्यक्ष पदका आकांक्षी केपी ओली पक्षले पदाधिकारीको टुंगो लगाएको छ भने माधवकुमार नेपाल पक्ष अन्तिम तयारीमा छ ।
केपी ओलीको समूहबाट उपाध्यक्ष वामदेव गौतम, विद्या भण्डारी, प्रदीप नेपाल, किरण गुरुङ र धर्मनाथप्रसाद साह, उपमहासचिवमा विष्णु पौडेल र शंकर पोखरेल हुनुहुन्छ । त्यस्तै महासचिवमा ईश्वर पोखरेल, सचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल, रघुवीर महासेठ र केशवलाल श्रेष्ठले उम्मेदवारी दिने नेता शंकर पोखरेलले जानकारी दिनुभयो ।
माधवकुमार नेपाल समूहबाट उपाध्यक्षमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, लालबाबु पण्डित र परशुराम मेघी गुरुङ, महासचिवमा सुुरेन्द्र पाण्डे, उपमहासचिवमा रघुजी पन्त र घनश्याम भुसालले उम्मेदवारी दिँदै हुनुहुन्छ ।
सचिवमा गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्य, प्रकाश ज्वाला चुनाव लड्दै हुनुुहुन्छ । श्रीमाया थकाली र रामचन्द्र यादवमध्ये एक जनाको टुंगो लाग्न बाँकी छ । बिहीबार विहान टुंगो लगाएर राष्ट्रिय सभा गृहमा उम्मेदवार सार्वजनिक गर्ने तयारी नेपाल पक्षले गरेको छ । निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरी थप निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।