माधव नेपालको प्यानल सार्वजनिक

एमालेको नवौं महाधिवेशनमा अध्यक्षका प्रत्यासी वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो समूहबाट प्रमुख पदमा उम्मेदवार हुनेहरुको नाम सार्वजनिक गरेका छन् । बिहीबार बिहान एक कार्यक्रमको आयोजना गरी उनले आफ्नो ‘प्यानल’ घोषणा गरका हुन् ।
नेपाल समूहबाट उपाध्यक्षमा युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य र लालबाबु पण्डित उम्मेदवार हुने भएका छन् । त्यस्तै महासचिवमा सुरेन्द्र पाण्डेले प्रतिस्पर्धा गर्नेछन् । दुई उपमहासचिवमा नेपालको प्यानलबाट रघुजी पन्त र घनश्याम भुसालले उम्मेदवारी दिने छन् ।
त्यस्तै, सचिवमा वेदुराम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य नेपालको प्यानलबाट चुनाव लड्दैछन् । संशोधित विधानमा ५/५जना उपाध्यक्ष र सचिवको व्यवस्था छ । नेपाल समूहबाट दुवै पदमा १/१ जनाको नाम घोषणा हुन अझै बाँकी छ । उम्मेदवारी मनोनयनका बेला अन्य नामहरु टुंगो लगाइने जनाइएको छ ।
प्यानल घोषणा सभामा नेपालले सबैले पद भन्दा पनि समग्र पार्टीको हित सोंचेर अगाडि बढ्नुपर्ने बताए । उनले मनोनयन दर्ता गर्न जाँदा सामूहिक रुपमा जान आफ्ना समर्थकहरुलाई निर्देशन दिए ।  अध्यक्षका अर्का प्रत्यासी केपी शर्मा ओलीले आफ्नो समूहबाट उम्मेदवार हुनेहरुको नामावालीलाई अन्तिम रुप दिंदैछन् । उनको प्यानल औपचारिक रुपमा सार्वजनिक गरिएको छैन ।