नयाँ बजेट आज आउँदै-सभासदको माग सम्बोधन गर्न एक निर्वाचन क्षेत्रमा पाँच करोड दिइने

आगामी आर्थिक बर्षको बजेट आज आउने भएको छ ।
आज दिउँसो ४ बजे अर्थमन्त्री डा. रामशरण महतले ब्यवस्थापिका संसदमा बजेट पेश गर्नुहुनेछ ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि ५ खर्ब ९६ अर्ब रुपैयाँको सीमा दिएपनि बजेटको आकार सीमा भन्दा झण्डै १५ अर्ब बढ्ने भएको छ । यो वर्षको बजेटमा हुने बचत, राम्रो वैदेशिक सहयोगको प्रतिबद्धता र राजस्व बढ्ने सम्भावनाका कारण स्रोत बढेकोले बजेटको आकार ६ खर्ब १० अर्ब भन्दा माथि जाने देखिएको अर्थ सचिव युवराज भुषालले जानकारी दिनुभयो ।
सभासदले सिधै खर्च गर्न पाउनुपर्ने गरी ५ करोड मागेपछि लामो समय छलफलमा रहेको अर्थमन्त्रालयले सभासदहरुको माग सम्बोधन गर्न बीचको बाटो निकालेको छ । सभासदको मागलाई सम्बोधन गर्ने गरी एउटा निर्वाचन क्षेत्रमा कम्तिमा ५ करोड जाने ब्यवस्था मिलाइएको सचिव भुषालले जानकारी दिनुभयो । त्यसको खर्च भने सभासदले सिधै नगरी सरकारी निकायले गर्नेछन् ।
तर योजना निर्माण र अनुगमनका लागि सम्बन्धित निर्वाचन क्षेत्रको प्रत्यक्ष निर्बाचित सभासदको संयोजकत्वमा जिल्लाका समानुपातिक सभासद रहेको समिति बनाउने ब्यवस्था बजेटमा गर्न लागिएको सचिव भुषालले वताउनुभयो । यसो गर्दा योजना कार्यान्वयनमा सभासदको सहभागिता पनि हुने र तलदेखि सिफारिस भएर आएका योजनाले पनि बजेट पाउने भएकोले बीचको बाटो खोजिएको उहाँले बताउनुभयो ।
सभासदले प्रत्यक्ष खर्च गर्ने गरी यसअघिदेखि पाउँदै आएको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको १० लाख रुपैयाँलाई यसपटक पनि निरन्तरता दिइने छ । यस्तै बजेटले कृर्षि, जलविद्युत, पर्यटन लगायतका क्षेत्रलाई प्राथमितामा राखेको छ । 
कृषि ब्यवसायमा लाग्न चाहने विदेशबाट फर्केका युवालाई प्रोत्साहित गर्न सहुलियतपुर्ण ऋण तथा अनुदानको समेत व्यवस्था गर्ने अर्थसचिव भुषालले बताउनुभयो ।

जानकारी । तपाईंका समाचार सामाग्री, सुझाव व अन्य केही भए हामीलाई umakantapandey@sandhikharka.com मा ईमेल गरी पठाउन सक्न्नुहुनेछ । – अर्घाखाँची डट्कम