ईजरायल र प्यालेष्टाईनबीच भड्किएको हिंसा रोक्ने प्रयासस्वरुप राष्ट्रसंघका महासचिव इजरायल जाने

श्रावण ४ ।  ईजरायल र प्यालेष्टाईनबीच भड्किएको हिंसा रोक्ने प्रयासस्वरुप संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन इजरायल जाने भएका छन् । दुई पक्षबीच संवाद मार्फत् द्वन्द्व अन्त्य गराउन बान इजरायल जान लाग्नु भएको राष्ट्रसंघद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसअघि महासचिव बानले सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाई गाजा क्षेत्रमा ईजरायलले आवश्यकताभन्दा बढी बल प्रयोग गरेकोमा आपत्ति जनाएका थिए । बानको भ्रमणको तिथि भने तय गरिएको छैन ।
यता, इजरायल र प्यालेष्टायनबीचको संघर्षमा तीन सयभन्दा बढी मारिएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन न्येतान्याहुले हमासविरुद्धको कारवाहीलाई कसैले पनि रोक्न नसक्ने फेरि पनि बताएका छन् ।
अमेरिकी राष्ट्रपति बाराक ओबामासँगको टेलिफोन वार्तामा उनले यस्तो बताएका हुन् ।  ओबामाले भने दुबै पक्षले संयम अपनाउनु पर्नेमा जोड दिएका छन् । इजरायली हवाई आक्रमणको निशानामा भने अधिकांश सर्वसाधारण परेका छन् । हजारौं हजार नागरिक पलायन भएका छन् । AGENCIES