अविरल बर्षापछि गएको पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

अविरल बर्षापछि गएको पहिरोले सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्गको तीन ठाउँमा सडक अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार भासु भीर र सहजपुरमा पहिरो गएर सडक अवरुद्ध भएको हो । त्यस्तै डोटीको बुडरमा आइतबार राती गएको पहिरोका कारण रुख ढलेर सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध भएपछि सुदुरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा, बझाङ, बैतडी, दार्चुला, बाजुरा, अछाम तथा डोटी आउने तथा पहाडी क्षेत्रबाट तराई जाने सवारी साधन रोकिएको छ । राजमार्गमा दर्जनौं सवारी साधन र तिनमा सवार सयौ यात्रु अलपत्र परेका छन् ।
राजमार्ग सञ्चालन गर्न नेपाली सेना, नेपाल प्रहरी तथा सडक कर्मचारी परिचालन भएपनि वर्षाका कारण कठिनाई भएको सडक डिभिजन कार्यालय नम्बर २ दिपायलले जनाएको छ ।