– शिव पुरी
रौतहटको चन्द्रपुर नपाबाट सदरमुकाम गौर जाँदै गरेको र गौरबाट वीरगंज आउँदै गरेको बस बुधबार बिहान सन्तपुर बजार नजिक एक आपसमा ठक्कर खाँदा ३७ यात्रु घाइते भएका छन् । घाइते मध्ये ६ को अवस्था गम्भीर छ ।
गौरबाट वीरगंज आउँदै गरेको ना २ ख ७६८९ नम्बरको सौदागर बस र चन्द्रपुरबाट गौर जाँदै गरेको ना २ ख १२०५ नम्बरको बस सन्तपुरमा एक आपसमा ठक्कर खाँदा दुवै बसमा सवार ३७ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपि नेत्रमणि गिरीले जनाए । दुवै बसको अघिल्लो भागमा क्षति पुगेको छ ।
घट्नामा साना बालीका समेत परेको छ । घाइते मध्ये झुन्खुनुवाका महम्मद सतार, सतार मियाँ, सन्तपुर-१० का कृष्णबहादुर खड्का र उनका श्रीमती मनकुमारी खड्का, डुमरियाका चन्द्रकला देवी र चन्द्रपुर -१ का ओमप्रकाशको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि वीरगज स्थित नेशनल मेडिकल कलेज पठाएको प्रहरीले जनाएको छ । घट्ना पछि गौर-चन्द्रनिगाहपुर सडक खण्ड केही बेर अवरुद्ध बनेको थियो ।
घाइते अधिकाशको चन्द्रनिगाहपुर अस्पतालका उपचार भएको थियो । अधिकांशको टाउको र खुट्टामा चोट लागेको छ । चन्द्रनिगाहपुरबाट जाँदै गरेको बसका चालक सहदेव चौधरी फरार रहेको ३ घट्ना पछि प्रहरीको सम्पर्क आएका थिए ।
अर्का बसका चालक सहितका सदस्यहरु घाइते छन् । घट्नास्थलमा शसस्त्र, नेपाल प्रहरी, ट्राफिक र स्थानीयले घाइतेको उद्धारमा सघाएका थिए । घट्नाको कारण भने खुलेको छैन । प्रहरीले ठक्कर खानुको कारणका बारेमा अनुसन्धान भइरहेको जनाएको छ ।