सद्भावना पार्टीले सरकारद्वारा ल्याइएको आर्थिक बर्ष २०७१ ०७२ को बजेट मधेश विरोधी भएको भन्दै बजेटको प्रतिलिपि जलाएको छ ।
बजेट कार्यक्रममा मधेशप्रति विभेद गरिएको भन्दै सद्भावना पार्टीका कार्यकर्ताहरुले परासीको बुद्धचोकमा बजेट प्रतिलिपि जलाएका हुन् ।
पार्टी कार्यालयबाट निस्केको जुलुस बुद्धचोकमा पुगेर कोणसभा गरि बजेट प्रतिलिपि जलाएका थिए ।
देशको कुल राजस्वको ८० प्रतिशत राजश्व मधेश क्षेत्रबाट उठ्ने गरेको तर खर्च गर्ने बेला १० प्रतिशत बजेट पनि विनियोजन नभएको आरोप लगाएका छन् । बजेट सम्बन्धी विभिन्न १२ वटा कारण उल्लेख गरि बजेट मधेश र मधेशी विरोधी भएको पार्टी निकट किसान, युवा र विद्यार्थी संगठनद्वारा जारी संयुत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा राज्य पुनर्संरचनामा बजेट विनियोजन गर्नु भन्दा स्थानीय निकायको निर्वाचनका लागि बजेट विनियोजन गरिनु संघीयता विरोधी भएको जनाइएको छ ।
त्यसैगरि पुर्वाधार विकासका लागि बिनियोजित कुल ५६ अर्ब रुपैयाँ बजेटमा मधेश क्षेत्रमा करिब ५ अर्ब मात्र रहेकोमा विज्ञप्तीमा आपत्ति जनाइएको छ । चुरे प्रति असंवेदशिल रहि वन विकासका लागि विनियोजित कुल ९ अर्ब मध्ये चुरे क्षेत्रमा ९० करोड मात्र विनियोजन गरिएको आरोप पार्टीले लगाएको छ ।
दलितका विद्यार्थीका लागि १२ कक्षासम्म पुर्ण निशुल्क नगराई इन्जिनियरिङ्ग र मेडिकलमा निशुल्क शिक्षा दिने भनेर दलित र मधेशीलाई झुक्याउने र ठग्ने मात्र काम भएको ठहर सद्भावना पार्टीले गरेको छ ।
त्यसैगरि कुल गृहस्थ उत्पादनमा ३३ प्रतिशत कृषि क्षेत्रको योगदान भएपनि सो क्षेत्रमा ३ दशमलव ८ प्रतिशत मात्र बजेट छुट्टयाइएको, चिया किसानलाई प्रोत्साहन गरे झै उखु, धान र गहुंका किसानलाई प्रोत्साहन कार्यक्रम नभएको र सिचाई क्षेत्रलाई ध्यान नदिइएको हुदा बजेट किसान विरोधी भएको जनाइएको छ ।