पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका छोरा सुरेश कोइरालाको शनिबार बिहान हृदयघातबाट निधन भएको छ।
बिहान करिब साढे ९ बजे एक्कासी मुखबाट रगत बगेकाले उपचारको लागि ओम अस्पताल पुर्याएका कोइरालाको उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ।
मुद्रण पेशामा संलग्न ६८ वर्षीय कोइराला शुक्रबार चावहिलस्थित कार्यालयको नियमित काम गरेर फर्किएका उनी बिहान परिवारसँग बसेर चिया पिउनेक्रममा मुखबाट रगत निस्कन थालेको पारिवारिक स्रोतले बताएको छ।
कोइरालालाई असहज हुनेबित्तिकै परिवारका सदस्यले तत्कालै ओम अस्पताल पुर्याएका थिए।
गिरिजाप्रसाद कोइरालाकै लालन पालनमा हुर्केका सुरेशलाई कोइरालाले आफ्नै नामबाट नागरिकतासमेत दिएका थिए।उनैले गिरिजाप्रसाद कोइरालालाई दागबत्ती पनि दिएका थिए।
उनको शनिबार नै पशुपति आर्यघाटमा अन्तिमा संस्कार गरिने परिवार स्रोतले जनाएको छ।