भारतीय विदेशमन्त्री सुष्मा स्वराज तीन दिने नेपाल भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किंदै हुनुहुन्छ ।
बिहान पौने नौ बजे उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमसँग भेटवार्ता गरेर स्वराज भारत फर्किने कार्यक्रम तय भएको छ । गौतमसँग शनिबार हुने भनिएको भेट भारतीय विदेशमन्त्रीको व्यस्तताका कारण सारिएको थियो ।
शुक्रबार बेलुका नेपाल आएकी स्वराजले नेपाल बसाईका क्रममा राष्ट्रपति, प्रधानमन्त्री, संविधानसभाका अध्यक्ष, बिभिन्न राजनीतिक दलका नेता लगायतसँग राजनीतिक भेटवार्ता गर्नुभएको थियो ।
उहाँको नेपाल भ्रमणका क्रममा शनिबार दुई देशबीच मन्त्रीस्तरीय संयुक्त आयोगको वैठक बसेको थियो । वैठकमा १९५० को सन्धि पुनरावलोकन गर्ने लगायतका सहमति भएको छ । यस्तै सीमापार हुने अपराधका क्षेत्रमा थप सहकार्य गरी एक अर्काको भूमिमा आपराधिक गतिविधि हुन नदिने सहमति भएको छ ।
यस्तै कृषि क्षेत्रको उत्पादकत्व बढाउन रासायनिक मल उपलब्ध गराउने क्रमलाई निरन्तरता दिनुका साथै कृषि विश्वविद्यालय स्थापनाका लागि पनि भारतले सहयोग गर्ने सहमति भएको छ । विप्पा सम्झौता कार्यान्वयका लागि आवश्यक कदम पूरा गर्नुपर्नेमा पनि दुवै देशले जोड दिएका छन् ।
यस्तै नेपालमा उत्पादित जलविद्युत दुवै पक्षको फाइदाका लागि प्रयोग गर्नका लागि छिट्टै नै उर्जा व्यापार सम्झौताको प्रस्तावलाई अन्तिम रुप दिनुपर्नेमा बैठकले जोड दिएको छ । आउँदो १८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउने भएपछि त्यसको तयारीका लागि विदेशमन्त्री स्वराज नेपाल आउनुभएको हो ।