सिरहाको गोविन्दपुर गा.वि.स.७ रनाहा टोलमा आइतबार दिउँसो बेवारिसे बम बिष्फोट हुँदा एक नाबालकको मृत्यु भएको छ ।
अरु चार जना बालबालिकासहित आठ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा गोविन्दपुर गा.वि.स. ७ का १० वर्षीय रामकुमार महतो रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुँयालले जानकारी दिनुभयो ।
टाउको, खुट्टा र हातमा बमको छर्रा लागेर गम्भिर घाइते भएका सात जनाको लहानस्थित फ्रेण्डस् मोडल हस्पिटलमा सामान्य उपचार गरी थप उपचारका लागि बिराटनगर रिफर गरिएको छ भने घाइते ललितादेवी महतोको लहानमै उपचार भईरहेको प्रहरीले जनाएको छ ।
बिष्फोटमा परी घाइते हुनेहरुमा १५ वर्षीय जीवनकुमार महतो, १३ वर्षीया पुनमकुमारी यादव, १२ वर्षीया गनिताकुमारी महतो, ८ वर्षीया सविताकुमारी महतो, २५ वर्षीया ललितादेवी महतो, २४ वर्षीया निर्मलादेवी महतो, ३५ वर्षीय विष्णुदेव महतो र ४० वर्षीय श्रीदेव महतो रहेका छन् ।
दिउँसो घर नजिकै रहेको बारीमा भाण्टा गोड्दै गर्दा खेलौना जस्तो बस्तु देखेपछि ललितादेवीले बोकेर ल्याएको बम घरको आँगनमा बिष्फोट भएको हो । स्थानीय गाउँलेहरुका अनुसार उक्त बस्तु हेर्दाहेर्दै एक्कासी ठूलो आवाजसहित बिष्फोट भएको थियो । बिष्फोट बारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । – आशिष विश्वकर्मा/उज्यालो