भारतसँग हुने विद्युत व्यापार सम्झौताको अध्ययन गर्न समिति गठन/मोदी भ्रमणको बेला ऊर्जा विकास सम्झौता गर्न दलहरु सहमत

काठमाडौ, श्रावण १३ – भारतीय प्रधानमन्त्रीको आइतबारदेखि हुने दुई दिने नेपाल भ्रमणलाई साझा उपलब्धी मान्न प्रमुख राजनीतिक दलहरु सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख तीन दलको वैठकले यस्तो सहमति गरेको हो ।
सत्तारुढ कांग्रेस, एमाले र प्रमुख प्रतिपक्षी एमाओवादीका शीर्ष नेताहरु सहभागी बैठकले मोदी भ्रमणको बेला ऊर्जा विकास सम्झौता (पीटीए) गर्ने सहमति गरेको छ । पीटीएमा सहमति जुटाउन तीन दलका एक एक जना रहने गरी कार्यदल गठन गरिएको छ ।
कार्यदलमा कांग्रेस तर्फबाट अर्थमन्त्री रामशरण महत, एमाले उपाध्यक्ष भीम रावल र एमाओवादी नेता नारायणकाजी श्रेष्ठ छन् । कार्यदलले पीटीएको लागि सम्बन्धीत मन्त्रालयका पदाधिकारी र विज्ञहरुसँग छलफल गरी राजनीतिक सहमति जुटाउनेछ ।
‘सबै राजनीतिक दलको सहमति जुटाएर मोदी भ्रमणकै बेला पीटीए गर्न राजनीतिक दल सहमत भएका छन्’, कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले बताए । एमाले निवर्तमान अध्यक्ष झलनाथ खनालले पीटीए देशको आवश्यकता भएकाले चाँडै गर्न दलहरु सहमत भएको बताए ।
बैठकमा ऊर्जामन्त्री राधा ज्ञवाली र परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले मोदी भ्रमणको तयारीबारे जानकारी गराएका थिए ।
एमाओवादी नेता नारायणकाजी श्रेष्ठले मोदी भ्रमणबारे दलहरुको बैठक विकास र पूर्वाधार निर्माणमा केन्द्रीत भएको बताए ।
बैठकमा माथिल्लो कर्णलीको पीडीए, पञ्चेश्वर, माथिल्लो कर्णाली, अरुण तेस्रोको बिषयमा छलफल भए पनि सहमति निश्कर्ष निस्किएन् ।
बैठकमा बोल्दै प्रधानमन्त्री सुशील कोइरालाले मोदी भ्रमणलाई साझा उपलब्धी मान्न दलहरु तयार हुनुले आफूमा उत्साह थपेको भन्दै शीर्ष नेतालाई धन्यवाद दिएका थिए ।
भारतसँग काठमाडौंलाई तराईसँग जोड्ने फास्ट ट्रयाक वा मध्य पहाडी लोकमार्गमा भारतीय लगानीका लागि आग्रह गर्ने योजनामा सरकार छ ।
केही दिनअघि नेपालका लागि भारतीय राजदूत रञ्जित रेले पनि अर्थमन्त्री रामशरण महतलाई भेटी सहयोग गर्ने आयोजना प्रस्ताव गर्न आग्रह गरेका थिए ।
दुई महिना अघि आफ्नो सपथग्रहण कार्यक्रममा सरिक भएका प्रधानमन्त्री सुशील कोइरालासँग पनि मोदीले कुनै अविष्मरणीय आयोजनामा सहयोग गर्न भारत तयार रहेको बताएका थिए ।