दैलेखको आरुखर्कमा विषालु च्याउ खाँदा एकै परिवारका चारजनाको मृत्यु

दैलेख, श्रावण १३ । दैलेखको डाँडापराजुली गाविस वडा नं. १ आरुखर्कमा विषालु च्याउ खाँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ । गत श्रावण ७ गते साँझ जंगलबाट ल्याएको च्याउ खाँदा एकै परिवारका पाँचजना गम्भीर बिरामी परेका थिए ।


गम्भीर अवस्थाका उनीहरुलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा भर्ना गरिएकोमा गत शनिबार ५ वर्षीया झरना गाहा मगरको मृत्यु भएको थियो । स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि जिल्ला अस्पताल दैलेख लगिएकामा ८ वर्षीय विशालको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक खेमराज राउतले जानकारी दिए ।


थप उपचारका लागि जिल्ला अस्पताल दैलेखबाट बाँकेको कोहलपुर मेडिकल कलेज लगिएका अन्य ३ जनामा १४ वर्षीय भविन्द्रको सोमबार र ४० वर्षीया आमा चन्द्रा गाहा मगरको आज मृत्यु भएको प्रहरी निरीक्षक राउतले बताए । एक छोरीको अवस्था भने सामान्य रहेको जनाइएको छ ।


मृतक चन्द्रा गाहाका श्रीमान् भने रोजगारीको सिलसिलामा भारतमा रहेको र उनलाई खबर गरी बोलाइएको प्रहरीले जनाएको छ । IMAGEKHABAR