इजरायलद्धारा ७२ घन्टे युद्धविराम भंग गर्दै गाजामा आक्रमण

श्रावण १६ । इजरायलले ७२ घन्टे युद्धविराम भंग गर्दै गाजामा आक्रमण गरेको छ । इजरायल र प्यालेष्टायनी लडाकु समूह हमासले मानवीयताका लागि भन्दै गरेको ७२ घन्टे युद्धविरामको अवधि नसकिंदै इजरायलले गाजामा गरेको आक्रमणमा कम्तिमा २७ जना प्यालेष्टाइनी मारिएका छन् ।
संयुक्त राष्ट्रसंघका महासचिव बान की मुन र अमेरिकी विदेशमन्त्री जोन केरीको अग्रसरतामा गाजामा ७२ घन्टे युद्धविराम गरिएको थियो । अस्थायी युद्धविरामलाई अझ लम्ब्याउने बारेमा इजिप्टको कायरोमा थप वार्ताहरुको प्रयास भइरहेको बेला इजरायलले आक्रमण गरेपछि विश्व समुदाय आश्चर्यचकित बनेको छ ।
इजरायल र प्यालेष्टायनका अधिकारीहरु कायरोमा भेटवार्ता गर्ने तयारी गरिरहेकै बेला इजरायल आक्रमणमा उत्रिएपछि अन्यौल बढेको छ ।
यसअघि इजरायल र हमासले राष्ट्रसंघ र अमेरिकाले गरेको प्रस्तावका आधारमा युद्ध रोक्न सहमत भएको जनाएका थिए । गत जुलाई ८ देखि भएको संघर्षका क्रममा १ हजार ४ सय २२ जना प्यालेष्टायनी नागरिक मारिएका छन् ।
यस्तै, ५३ जना इजरायली सैनिक पनि मारिएका छन् । (एजेन्सी)