श्रावण १९ । चीनको दक्षिण पश्चिमी युनान प्रान्तमा शक्तिशाली भूकम्प जाँदा मर्नेको संख्या ३ सय ८१ पुगेको छ । घाइते हुनेहरुको संख्या १८ सय नाघेको छ । उद्धार र राहतलाई तीव्रता दिन २५ सय चिनियाँ सेना खटाइएको छ ।
अमेरिकी भूगर्भ सर्र्भेकाअनुसार ६ दशमलव १ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु योनपिङ रहेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाकाअनुसार भूकम्पका कारण १२ हजार घर ध्वस्त भएका छन् भने ३० हजार क्षतिग्रस्त भएका छन् ।
युनान प्रान्तमा १४ वर्षमा आएको यो अहिलेसम्म कै शक्तिशाली भूकम्प भएको चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ । जोताङ क्षेत्रको क्विइजी जिल्लामा पनि भूकम्पका कारण ठूलो जनधनको क्षति भएको अधिकारीहरुले जनाएका छन् ।
युनान प्रान्तमा सन् १९७० मा आएको ७ दशमलब ७ रेक्टर स्केलको भूकम्पका कारण १५ हजारभन्दा बढीको मृत्यु भएको थियो । (एजेन्सी)