सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २९, अझै १३० भन्दा बढी सम्पर्कविहीन

सिन्धुपाल्चोक, श्रावण १९ । सिन्धुपाल्चोकको मांखा गाउँ विकास समितिको जुरेमा गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २९ पुगेको छ । आज थप १९ जनाको शव फेला परेसँगै मृत्यु हुनेको संख्या २९ पुगेको हो ।
मृतकमध्ये सोममाया श्रेष्ठ र उनका छोरा छोरी, सोममाया कै घरको भाडामा बस्ने धुस्कुन गाविसका राजु थामी, उनकी श्रीमती र उनकी दुई छोरी र एक छोरा, लामोसाँघु ग्रीनल्याण्ड स्कुलका बस चालक गणेशलाल श्रेष्ठ, श्रेष्ठकी श्रीमती चन्द्रमाया, छोरीहरु धनमाया र जया गरी १२ जनाको मात्र सनाखत भएको छ । अरुको भने सनाखत हुन बाँकी छ ।
प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीका अनुसार ५२ परिवारका अझै १ सय ३० भन्दा बढी सम्पर्कविहीन छन् । नदी खुलाउन अहिले स्काइभेटर र डोजर प्रयोग गरिएको छ । स्काइभेटरले खन्ने क्रममा १९ जनाको शव फेला परेको हो ।
नदीबाट भने दश प्रतिशत मात्र पानी खुल्न बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ । थुनिएको सुनकोशी नदीको बहाव सामान्य अवस्थामा फर्किएपनि पहिरोले खसेको पहाड भने यथावत छ ।
यसैबीच, थुनिएको नदी सामान्य बन्दै गएपनि जुरेमै अर्को ठूलो पहिरोको खतरा रहेको प्राविधिकहरुले जनाएका छन् । पहिरोको शीर राम्चे पुगेर अध्ययन गर्दा त्यस्तो खतरा देखिएको हो ।
पहाड झन्डै डेढ किलोमिटरभन्दा बढी चिरा परेकाले पहिरो कुनै पनि बेला खस्न सक्ने भन्दै नदीमा जमेको पानी चाँडोभन्दा चाँडो फाल्न उनीहरुले सुझाव दिएका छन् ।
शनिबार बिहान ३ बजे डाँडा नै खसेर आएको पहिरोले अरनिको राजमार्गको ड्याम साइडनजिक राम्चे ५ स्थित जुरेमा नदीको बहाव थुनिएपछि स्थिति भयावह बनेको हो । IMAGEKHABAR