श्रावण २० । पश्चिम अफ्रिकामा करिब नौ सय व्यक्तिको ज्यान लिइसकेको इबोला भाइरसको रोकथामका लागि विश्व बैंकले आकस्मिक कोषको घोषणा गरेको छ । ज्यानमारा भाइरस रोक्न र त्यसबाट प्रभावित भएकाहरुलाई उपचारमा सघाउन विश्व बैंकले २० करोड डलरको आकस्मिक कोष घोषणा गरेको हो ।
संकटको बारेमा वासिंगटनमा अफ्रिकन मुलुुकका नेताहरुसँग बैठक गरेपछि सहयोगको घोषणा गरिएको हो । इबोला महामारीले अझै धेरै मानिसको ज्यान लिनसक्नेमा बैठकमा चिन्ता व्यक्त गरिएको छ । यो भाइरसको संक्रमण भएमा उच्च ज्वरो, रगत छाद्ने र केन्द्रीय स्नायु प्रणालीलाई ध्वस्त पार्ने लक्षण देखिन्छन् ।
रोकथामको प्रयास जारी रहेको बेला इबोला भाइरस भने एक देशबाट अर्को देशमा फैलने क्रममा छ । पछिल्लो समय इबोला नाइजेरियामा पुगेको जनाइएको छ । नाइजेरियामा बिरामीको उपचार गर्ने चिकित्सक स्वयं भाइरसको शिकार बनेका छन् भने संक्रमित एक व्यक्तिको निधन भइसकेको छ ।
यसअघि यस भाइरसले लाइबेरिया, सियरालियोन र गिनीलाई आफ्नो पञ्जामा पारिसकेको थियो । विश्व बैंकले दिएको उक्त सहयोग पनि यिनै देशमा खर्च गरिने बैंकका अध्यक्ष जिम योंग किमले जानकारी दिएका छन् ।
३१ जुलाई र १ अगस्तमा मात्रै यस रोगका कारण ६१ जनाको मृत्यु भएको थियो । भाइरसले समातेका ९० प्रतिशत व्यक्तिको मृत्यु भइसकेको खबर छ । (एजेन्सी)