यातायात ठप्पले झापाको काँकडभिट्टामा तनाव

मेची यातायात व्यवसायी राष्ट्रिय महासङ्घ अञ्चल समितिको आह्वानमा बुधबार गरिएको यातायात ठप्पले झापाको काँकडभिट्टामा तनाव सिर्जना भएको छ । स्थिति गम्भीर बन्न लागेपछि प्रहरीले गरेको लाठी चार्जमा केही मानिस घाइते हुनुका साथै केही पक्राउ परेका छन् ।
    
स्थितिलाई सहज बनाउन प्रहरी सतर्कता बढाएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । उज्यालो यातायात व्यवसायी सङ्घले आजदेखि नियमित सञ्चालन गर्ने आफ्नो सेवाको विरोधमा सो समितिले मेची अञ्चलभरिका यातायात ठप्प पारेको छ ।
    
बन्दमा अखिल नेपाल ट्रेड युनियन, नेपाल यातायात ट्रेड युनियन र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्घ सहभागी छन् । उज्यालो यातायातले समितिमार्फत सेवा सञ्चालन गर्नुपर्ने अडानले गर्दा यातायात व्यवसायीबीच विवाद उत्पन्न भएको बताइएको छ । रासस