एकीकृत नेकपा(माओवादी)को संस्थापन पक्षले आफ्नो समूहका दुई नेतालाई गरेको कारबाही फिर्ता नलिए पार्टीको आगामी केन्द्रीय समिति बैठक बहिस्कार गर्ने निर्णय डा. बाबुराम भट्टराई पक्षले गरेको छ।
भट्टराई निवास सानेपामा आज बसेको बैठकले आफ्नो पक्षका पोलिटब्युरो सदस्य गङ्गानारायण श्रेष्ठ र केन्द्रीय सदस्य रामरिझन यादवलाई गरिएको निलम्बन फिर्ता नभए संस्थापन पक्षसँग थप कडा रुपमा प्रस्तुत हुने निर्णय गरेको छ।
भट्टराई पक्षका नेता देवेन्द्र पौडेलले आजको छलफलमा श्रेष्ठ र यादवमाथिको कारबाही अस्विकार गर्दै फिर्ताका लागि आग्रह गर्ने निर्णय गरिएको जानकारी दिए।
उनले कारबाही फिर्ता नभए आगामी भदौ १० गतेदेखि बस्ने भनिएको केन्द्रीय समितिको बैठकमा आफूहरु सहभागी नहुने वातावरण आउन सक्नेबारे संस्थापनलाई जानकारी गराउने विषयमा छलफल भएको बताए।
माओवादी स्थायी समितिको गत सोमबारको बैठकले धनुषामा पार्टीभित्र समानान्तर जिल्ला समिति गठन गरेको भन्दै श्रेष्ठलाई तीन महिना र यादवलाई एक महिनाका लागि केन्द्रीय सदस्यबाट निलम्बन गरेपछि एमाओवादीभित्र विवाद सिर्जना भएको हो। रासस