कृष्ण प्रसाद श्रेष्ठ ।
वीरेन्द्र केसी
चुत्राबेशी, अर्घाखाँची । सानो व्यावसाय भएपनि त्यसलाई निरन्तरता दिएपछि करोडपति बन्ने सपना त्यति टाढा छैन । त्यसैमा मेहनत गरेर लागेपछि सफल हुदै गईन्छ । आफु १२ वर्षको उमेरमै सानो दुई चार हजार रुपैयाको लगानीबाट विस्कुट, चुरोट विडी, चिनी लगायतका सानो व्यावसायबाट शुरु गरेको व्यापारबाट करोडपति बन्न चुत्रावेशीका व्यापारी कृष्णप्रसाद श्रेष्ठ सफल भएका छन । ४५ वर्षको निरन्तरताले करोडपति बनाएको हो ।
१२ वर्षको उमेर वावु नन्दलालसँग सानो खुद्रा व्यापार शुरु गरेका थिए । त्यो व्यापार फस्टायो । अहिले जिल्लाकै ठुला व्यापारीमा गनिन्छन् । त्यतिमात्रै होईन सिंगो जिल्लाको उद्योग वाणिज्य संघको नेता पनि हुन । संघका जिल्ला अध्यक्ष र केन्द्रिस सदस्य पनि हुन । २०२५ सालमा चुत्रावेशीमा खोल्सा र झाडी सहितको बगर थियो । यहाँ सामान किन्न गाउँबाट ग्राहक पैदह हिडेर आउथे । त्यतिबेला म १२ वर्षको थिए, उनले भने, कपिलवस्तुको पथ्थरकोटबाट सामान बोकर ल्याउदा पाँच दिन लाग्थ्यो । नेवारको छोरो भएकाले तिरै मन गयो । बुटवल पनि पैदलै हिडेर गईयो । अन्नपात, नुन बोक्नेलाई टक्रे भन्थे । त्यतिबेला प्युठानसम्मबाट किन्न आउथे । विस्तारै बजार बढदै गयो । २०३२ सालमा सन्धिखर्कमा सदरमुकाम बसेपछि व्यापार गर्न थप हैसाल मिल्यो । २०३७ सालमा कारोवार एक लाख रुपैया पुग्यो । ०३८ सालमा सदरमुकाममा सडक खुल्यो । बुटवलबाट टयाक्टरले समान बोकेर ल्याउन एक साता लाग्यो । तर अहिले पाँच घण्टामा आफनै ट्रकले सामान घरमै ल्याउछ र गाउँसम्म टयाक्टरले पु-याउछ ।
गाउँबाट व्यापार गर्न गाउँले झरेपछि बजार विस्तारै बढदै गयो । श्रेष्ठ १२ वर्षको हुँदा दुईचार हजारबाट शुरु गरेको व्यावसाय ०३७ सालमा एक लाख रुपैया पुगेको थियो । व्यापार फस्टाएपछि अहिले ५ करोड रुपैया होलसेल कारोवार हुने गरेको उनले बताए । अहिले करोवारको १३ प्रतिशत कर उनले सरकारलाई तिर्छन । त्यति रकम बराबरको सन्धिखर्क, वुटवल र काठमाडौमा घर घडेरी पनि किनेका छन ।
जाने व्यापार नजाने अपार हो, उनले भने, सानो व्यापारलाई मैले मेरो जीवन यसैमा बिताउने हो भनेर सम्झिए रातदिन, भोक तिर्खा नभनेर दुःख गरे, मैले सोचेजस्तो सफना साकार भयो । एक-एक रुपैया संगालेर राखेपछि सय पटकमा एक सय रुपैया त्यो सय रुपैयाले केही सामान आउछ पैसा जोगाएर राख्ने, सामान एक रुपैया भएपछि सस्तो दिने,ग्राहकलाई खुसी पार्ने गरेपछि सामान किन्न धेरै आउछन् । मैले एक दिन दुई चार पैसा, सय र हजार होईन करोडको कारोवार गुर्छ भन्ने उद्देश्य राखेको थिए । एउटै कामलाई निरन्तरता र उपलब्धी मुलक रुपमा कारोवार गर्दै जाँदा व्यावसायमा सफलता मिलेको बताए । उनले आफुले गरेको कामलाई निरन्तरता र काम गर्न अल्छी नगर्ने गरे सफल भईने उनले दावी गरे ।
सबै व्यापारीको लोकप्रियताले २०५३ सालमा उद्योग वाणिज्य संघको उपाध्यक्ष भए । ०६१ मा अध्यक्ष भए । २०७० मा महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भए । महासंघको कन्द्रिय अध्यक्ष हुने मेरो सफना छ । ०५३ मा उवासंघमा २ सय व्यापारी सदस्य थिए अहिले ६ सय छन । नाफा मुलक व्यापारले करोडौ आम्दानी भएपछि उनी समाजसेवातिर पनि छन । श्रेष्ठ अहिले एक दर्जन सामाजिक संघ संस्थामा आवद्ध छन । एमालेको जिल्ला सदस्य छन । सन्धिखर्क नगरपालिका भएकाले मेयरको रुपमा उनको नाम अगाडी आउछ । जिल्लालाई औद्योगिक पर्यटन क्षेत्रको विकास गर्नुपर्ने उनको तर्क छ । उद्यासंघको नेता भएपछि अहिले उनी उद्योग क्षेत्रको विकासतिर लागेका छन ।
जिल्लामा ठुला उद्योग छैनन् साना तथा घरेलु उद्योग मात्र छन । वाणिज्य क्षेत्रका व्यापारीहरु धेरै छन । ठुला मझौला उद्योग नहुनुको कारण तराईको जस्तो उद्योगलाई सुविधा छैन, श्रेष्ठले भने, पहाडमा धेरै गाह्रो छ, कच्चा पदार्थ ल्याउन सडकको समस्या छ त्यसमा पनि बजार छैन । त्यसको लागि उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ ल्याउन सडक र आवश्यक पर्ने सुविधा दिनुपर्छ । साना उद्योगको लागि विना धितो न्युन व्याजदरमा कर्जा दिनुपर्ने उनले बताए । अर्घाखाँचीको नरपानी र खाँची लेकमा ४० वर्षको लागि रहेको सिमेन्टको कच्चा पदार्थलाई जिल्लामै उद्योग स्थापना गर्नुपर्छ । पर्यटनको हिसाबले अर्घाखाँची उपयुक्त छ । गाउँमा होमस्टे, पर्यटकलाई सुरक्षा,सडक विद्युत अन्य सुविधा हुनुपर्छ यसको संभावना धेरै छ । महासंघ र पर्यटन मन्त्रालयमा जिल्लाको पर्यटन विकासको गुरुयोजना बनाएर माग गरेको उनले बताए । कृषि पशुपालनलाई वद्धि र नगरपालिकाको भुगोल विकट वस्ती सम्म पुगेकाले करमा फरक हुनुपर्ने उनको तर्क छ ।