सिन्धुपाल्चोक, श्रावण २२ । सिन्धुपाल्चोकको माङ्खा गाउँ विकास समितिको जुरेमा गएको पहिरो हटाउने क्रम आज पनि जारी छ । आज पनि नेपाली सेनाले थुनिएको ठाउंमा थप बिस्फोट गराई पानी खोल्ने जनाएको छ ।
एक्कासी ढिस्को खोल्दा तल्लो भेगमा बढी क्षति पुग्ने भएकाले सुस्त गतिमा ताल खोलिएको सेनाले जनाएको छ । पहिरो स्थलमा ठूला ठूला चट्टान रहेकाले हटाउन समस्या भएको घटनास्थलमा रहेका सुरक्षाकर्मीले जनाएका छन् ।
सानिमा हाइड्रो पावर, १९ घर र एक किलो मिटर अरनिको राजमार्ग अझै डुवानमै छन् । एक्साभेटर र डोजरको सहायतामा पुरिएका घरहरु र सडक खोल्ने क्रम पनि जारी छ । घटनास्थलमा पुरिएका शवहरु कुहिएर अहिले वातावरण पूरै दुषित बनेको छ । अधिकांश पहिरो पीडितहरु बिरामी पर्न थालेका छन् ।
उता, सरकारले राहत दिन ढिलो गरेको भन्दै पिडितहरु आक्रोसित बनेका छन् । सो पहिरोमा परि बेपत्ता १ सय २३ जनालाई सरकारले हिजो मृत घोषणा गरेपछि मृतकको संख्या १ सय ५६ पुगेको छ । जसमा हालसम्म ३३ जनाको मात्र शव फेला परेको छ । उता, पहिरो पिडितका लागि सुरु गरिएको सुनकोशी बाढीपिडित राहत कोषमा हालसम्म ९१ लाख रुपैयां जम्मा भएको छ ।
सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ, नेपाल ट्रक कन्टेनर व्यवसायी संघ र हिमालय सीमापार बाणिज्य संघको संयुक्त पहलमा राहत कोषको शुरुवात गरिएको थियो । कोषमा एक करोड पुगेपछि राहत वितरण गरिने उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकले जनाएको छ । IMAGEKHABAR