श्रावण २४ । नाइजेरियाका राष्ट्रपति गुडलक जोनाथनले इबोला भाइरसको संक्रमण बढेपछि आपतकालीन स्थितिको घोषणा गरेका छन् । राष्ट्रपति जोनाथनले संक्रमणविरुद्धको अभियानका लागि ११ मिलियन डलरभन्दा बढी रकम स्वीकृत गरेका छन् ।
उनले मास हिस्टेरिया हुनसक्ने भन्दै इबोलाबारे अफवाह नफैलाउन अपील गरेका छन् । पश्चिम अफ्रिकामा इबोला भाइरसको संक्रमण बढेपछि विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय आपतकालीन स्थितिको घोषणा गरेलगत्तै नाइजेरियामा पनि आपतकालीन स्थितिको घोषणा गरिएको हो ।
यो वर्षमा इबोला भाइरसका कारण पश्चिम अफ्रिकी मुलुकहरुमा ९ सय ६१ जनाको मृत्यु भैसकेको छ भने नाइजेरियामा पनि दुईजनाको मृत्यु भएको पुष्टि भएको छ ।
राष्ट्रसंघको स्वास्थ्य एजेन्सीले इबोलाका करिब २ हजार केश आएको जनाएको छ । इबोलाको भाइरस रोक्न र त्यसबाट प्रभावितहरुलाई उपचारमा सघाउन विश्व बैंकले २० करोड डलरको आकस्मिक कोष घोषणा गरेको छ ।
यो भाइरसको संक्रमण भएमा उच्च ज्वरो, रगत छाद्ने र केन्द्रीय स्नायु प्रणालीलाई ध्वस्त पार्ने लक्षण देखिन्छ । यस भाइरसले लाइबेरिया, सियरालियोन र गिनीलाई आफ्नो पञ्जामा पारिसकेको छ ।
भाइरसले समातेका ९० प्रतिशत व्यक्तिको मृत्यु भइसकेको छ । (एजेन्सी)